फाल्गुन २८, २०८१लमजुङ — मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाकी सुनमाया तामाङले २० वर्षदेखि ११ हलगोरु लाग्ने जमिनमा अलैंची खेती गर्दै आएकी छन् । अलैंचीबाट आम्दानी भए पनि डाँठ काम लाग्छ भन्ने उनले भेउ पाएकी थिइनन् । उनको बारीमा अलैंचीका डाँठ कुहिएर जान्थे वा पोलिन्थ्यो ।काम नलाग्ने भनेर फालेको अलैंचीको डाँठ काम लाग्ने भन्ने जानकारी उनले तब पाइन्, जब उनले बेंसीसहरमा यसबाट हस्तकलाका सामग्री बुन्ने तालिम लिइन् ।‘वर्षैपिच्छे फाल्ने गरेको अलैंची डाँठ त काम लाग्ने रहेछ । यसबाट बन्ने चिज बिक्री गर्न सकियो भने पैसा पनि आउँदो रहेछ,’ तामाङले भनिन् । पाँच दिनको तालिमबाट टोपी, चप्पल, कलम राख्ने भाँडा, झोला बनाउन सक्ने भएको उनले जनाइन् । ‘बजारबाट पैसामा किनेर ल्याउनुपर्ने धेरै सामान त हामीले गाउँमै बनाउन सकिने रहेछ । अब म गाउँलाई पनि सिकाउँछु,’ उनले भनिन् । यसलाई व्यवस्थित तवरबाट बुन्न सकिए आम्दानी हुनेबारे ज्ञान पाएको उनको भनाइ छ ।
गाउँघरमा मकैको बोक्राबाट चकटी र परालबाट गुन्द्री बुन्दै आएकामा अलैंचीको डाँठबाट अन्य हस्तकलाका सामग्री बुन्ने नयाँ तरिका थाहा पाएको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँकी टकमाया गुरुङले बताइन् । ‘अलैंचीको डाँठबाटै झोला, चप्पल बनाउन मिल्दो रहेछ । अब खेर गइरहेको बोक्राबाट बनाउने सामान कोसेली हुने पनि भयो, बेचेर आम्दानी गर्न पनि सकियो,’ उनले भनिन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आयोजना गरेको पाँचदिने तालिम लिएका महिलाले अलैंचीको डाँठबाट रेसा निकालेर हस्तकलाका सामग्री बनाउन जानेका छन् । मर्स्याङ्दी र क्व्होलासोथारका महिलालाई नैनकला गुरुङले अलैंचीको डाँठबाट पेन्सिल बक्स, पर्स, ब्याग, झन्डा लगायत सामग्री बनाउन सिकाएका हुन् ।अलैंचीले मात्रै आम्दानी नभई डाँठ (रेसा) बाट पनि आम्दानी गर्न सकिन्छ भनेर महिलाका लागि तालिमको आयोजना गरिएको परियोजनाका निमित्त कार्यालय प्रमुख हरिबहादुर मिजारले जनाए । अलैंचीको खेर गइरहेको डाँठ सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर बनाउन, रोजगारी सिर्जना गर्न, होमस्टे तथा पसलहरूमा राखेर बिक्री गर्न केही दिनअघि तालिम आयोजना गरिएको मिजारको भनाइ छ । १ लाख २० हजार रुपैयाँ बजेटबाट महिलालाई तालिम प्रदान गरिएको उनले बताए ।
घरगाउँमै बसेर महिलाले लाभ उठाउने नयाँ तरिका र ज्ञान पाएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले जनाए । ‘धेरै पुरुष विदेश छन् । घरगाउँका महिलाले घरमै बसी–बसी आम्दानी गर्ने नयाँ बाटो खुलेको छ । यसलाई सदुपयोग गर्न आवश्यक छ,’ उनले भने ।