२८ फागुन, जनकपुरधाम । सिरहा विष्णुपुर गाउँपालिका–१ बजारस्थित पशु सेवा शाखा कार्यालयमा १३ फागुन दिउँसो सवा १२ बजे भोगेन्द्र यादव र सुनिता मण्डल बोका उपचार गराउन पुगे ।
सिरहा नगरपालिका–१० पदमपुरबाट अटो रिक्सा चढेर ७०–७० रुपैयाँ भाडा तिरेर आएका उनीहरू बोकाको उपचार गराउन चाहन्थे । तर, कार्यालय बन्द थियो । कर्मचारी आउने आशामा उनीहरू केहीबेर पर्खे ।‘बोकालाई बधिया गराउन ल्याएको हुँ । अटोमा ७०–७० रुपैयाँ भाडा तिरेर आएँ । तर, अहिलेसम्म कार्यालय खुलेको छैन । सरकारी अफिस त १० बजे नै खुल्छ,’ भोगेन्द्रले गुनासो गरे । एक वर्षअघि यसै कार्यालयमा सेवा पाएका उनले यसपालि भने निराश हुनुपर्यो ।
उनीहरू केही समय पर्खिए, वरिपरि हेरे, तर कोही आएनन् । स्थानीयबाट उनीहरूले जानकारी पाए– यो कार्यालय केही समयदेखि नै बन्द छ । त्यसपछि उनीहरू थप निराश भए ।‘बेकारमा यहाँ बोका लिएर आयौं । बरु, केही थप भाडा तिरेर सदरमुकाम गएको भए काम हुन्थ्यो । अब फेरि भाडा तिरेर फर्किनुपर्छ । सरकारी कार्यालयको हालत नै यस्तो छ,’ सुनिता मण्डल गुनासो गर्दै घरतिर लागिन् ।
पशु सेवा कार्यालयसँगै रहेको कृषि विकास शाखा कार्यालय पनि त्यतिबेला बन्द नै थियो । विष्णुपुर गाउँपालिका अन्तर्गत रहेका यी दुवै कार्यालय स्थानीय किसानका लागि अत्यन्तै आवश्यक छन् । तर, यी दुवै कार्यालय भदौदेखि निरन्तर बन्द रहेको वडा नम्बर १ का अध्यक्ष भोगेन्द्र यादवले बताए ।
‘भदौमै दुवै कार्यालयका कर्मचारी नियमित अवकाशमा गएपछि जनशक्ति अभावका कारण कार्यालय बन्द छ,’ वडाध्यक्ष यादवले भने, ‘यसकारण विभिन्न समस्या लिएर दिनहुँ आउने किसानहरू निराश भएर फर्किनुपरेको छ ।’
यी कार्यालय गाउँपालिका कार्यालयबाट करिब १ सय ५० मिटर दुरीमा भए पनि सेवा लिन नपाएर स्थानीय मर्कामा परेका छन् ।
गाउँपालिका कार्यालयका अनुसार पशुसेवा शाखामा कार्यरत प्राविधिक रामदयाल यादव र कृषि विकास शाखामा कार्यरत शिवशंकर यादव गत भदौमै नियमित अवकाशमा गएका थिए ।
उनीहरूको अवकाशपछि जनशक्ति अभावका कारण कार्यालय प्रायः बन्द रहने गरेको छ ।
प्रशासनिक कामकाजको देखभालका लागि रोजगार संयोजक दीपक मण्डल र धनवीर यादवलाई थप जिम्मेवारी दिइएको थियो । स्थानीयका अनुसार उनीहरू कहिलेकाहीँ मात्र कार्यालय खोल्ने र बन्द गर्ने गर्छन् ।
पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न छन् । तर, कृषिसँग सम्बन्धित दुवै शाखा बन्द हुँदा किसानहरू बालीनाली तथा पशुसेवा सम्बन्धी सेवा नपाएर समस्यामा छन् ।जनशक्ति व्यवस्थापनमा पालिका प्रमुखले चासो नदिँदा किसानलाई सेवा दिने दुवै कार्यालय अस्तव्यस्त बनेको वडाध्यक्ष यादवले गुनासो गरे ।
‘कार्यालय बन्द रहेको भन्दै वडावासीले पटक–पटक गुनासो गर्छन् । मैले पनि कर्मचारी व्यवस्था गरी नियमित सेवा प्रवाह गर्न पालिका अध्यक्षलाई धेरैपटक आग्रह गरेँ । तर, उहाँको कुनै चासो देखिँदैन,’ वडाध्यक्ष यादवले भने ।
यता पालिका अध्यक्ष सत्यनारायण यादव भने केही समयदेखि कार्यालय नियमित रूपमा सञ्चालनमा आएको दाबी गर्छन् ।
‘पछिल्लो १०–१२ दिनदेखि पशुसेवा कार्यालय नियमित रूपमा खुल्छ । भेटेरिनरी प्राविधिक बद्रीनारायण यादवले सेवा दिइरहनुभएको छ । कृषि शाखामा लक्ष्मी पासवान बसेर सेवा प्रदान गर्नुहुन्छ,’ उनले भने ।
उनका अनुसार भेटेरिनरी प्राविधिक यादव केही दिनअघि मात्र सिरहा कल्याणपुर नगरपालिकाबाट सरुवा भई आएका हुन् ।
पालिकाले जनशक्ति व्यवस्थापनका लागि थप प्रयास गरिरहेको अध्यक्ष यादवले बताए । यद्यपि, केही वर्षअघि संघीय सरकारको करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पशुसेवा कार्यालय जीर्ण अवस्थामा पुगेको छ ।
भवनका विभिन्न भाग चर्किएका छन् । शौचालयको ढोका तोडफोड छ । कतै कुनै बोर्ड छैन । दुवै कार्यालय भद्रगोल र अस्तव्यस्त छन् ।