फाल्गुन २६, २०८१ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिकामा निजी क्षेत्रको लगानीबाट निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो २ सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनाको २ सय ८३ मेगावाटको अपर तमोर आयोजनाको उत्खनन टीबीएम मेसिनबाट गरिने भएको छ । फक्ताङलुङ गाउँपालिकाको समन्वयमा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो । छलफलमा राजनीतिक दलका पालिका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतको सहभागिता थियो ।गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार पहिलो बुँदामा चैत र वैशाख महिनामा आयोजनाको तर्फबाट खानेपानीका मुहान मापन गरी वडा कार्यालय र गाउँपालिकामा प्रतिवेदन पेस गर्ने र पानीको मात्रामा कम भइ खानेपानी तथा सिँचाइमै कम आएमा अनावृष्टि बाहेक आयोजनाकै तर्फबाट खानेपानी तथा सिँचाइको व्यवस्थापन गर्ने निर्णय भएको छ । यो खानेपानी तथा सिँचाइका सम्बन्धमा भएको निर्णय हो ।दोस्रो बुँदामा आयोजनाबाट हुने क्षतिपूर्ति सम्बन्धी रहेको छ । आयोजनाको टनेल उत्खनन टीबीएम मेसिनमार्फत गरिने भएकाले ब्लास्टिङ कम हुने तथा ब्लास्टिङ गर्नुपर्ने क्षेत्रका सम्पूर्ण घर तथा जग्गाहरू खरिद गरिसकेकाले बस्तीमा क्षतिको सम्भावना कम रहने छ । यद्यपि ब्लास्टिङको प्रभावबाट घरहरू चर्किएमा वा क्षति भएमा आयोजनाले क्षतिपूर्ति दिने निर्णय गरिएको छ ।
तेस्रो बुँदा रोजगारी सम्बन्धी रहेको छ । यसमा स्थानीय जनताको जीवनस्तर उकास्न आयोजनाको आवश्यकता अनुसार योग्यता, क्षमता, सीप र दक्षताका आधारमा आयोजनाको नीति, नियम, मापदण्ड तथा स्थानीय सरकार र वडाको सिफारिसमा रोजगार प्रदान गर्ने उल्लेख छ ।चौथो बुँदा भने स्थानीय कृषि उपज खपत सम्बन्धी रहेको छ । यसमा कृषकहरूले दीर्घकालीन रुपमा कृषिजन्य उत्पादन आयोजनालाई आपूर्ति गर्न सकेको खण्डमा आयोजनाले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर खपत गर्ने उल्लेख छ ।पाँचौं बुँदामा आयोजना क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गरेर अगाडि बढ्ने उल्लेख छ । छैटौं बुँदामा आगामी चैत २ गते फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमको सिंवामा सरोकार समिति गठन गर्ने उल्लेख छ भने सातौं तथा अन्तिम बुँदामा चैत २ गते गठन हुने समितिले गर्ने निर्णय आयोजनाले कार्यान्वयन गर्दै गएमा सम्पूर्ण कार्यमा सहयोग र समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको छ ।
यो आयोजनाको काममा स्थानीयले अवरोध गर्दै आएका थिए । स्थानीयले सिँचाइ, खानेपानी, आयोजना निर्माण गर्दा घर चर्कने र यो क्षेत्र लिम्बू समुदायको मुन्धुमस्थल भएको आवाज उठाउँदै आएका छन् ।