नौ वर्षदेखि अधुरै कालीगण्डकी पुल

Swastika Bhandari

फाल्गुन २६, २०८१पोखरा — निर्माण कम्पनीको लापरबाहीले पूर्वी नवलपरासीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन पुल ९ वर्षदेखि अधुरै छ । ठेकेदार सम्पर्कविहीन भएपछि पक्की पुलको काम अलपत्र परेको हो ।काम अलपत्र पारेका ठेकेदारले १३ करोड भुक्तानी लिइसकेको छ । पूर्वी नवलपरासीको बुलिङ्टार र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा २०७२ मा पुल निर्माण सुरु गरिएको थियो । पुल निर्माण सुरु गरेको ९ वर्षमा ४५ प्रतिशत मात्र काम भएको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जनाए ।ठेकेदार कम्पनीले काम नसक्दै १३ करोड रुपैयाँ भुक्तानी लगिसकेको उनले बताए । पुल निर्माणका लागि पटक–पटक ठेकेदार कम्पनीलाई लिखित रूपमा पत्र पठाउँदासमेत अटेर गरेको सुवेदीको भनाइ छ ।

‘हालसम्म ४५ प्रतिशत काम सकिएको छ । १३ करोड भुक्तानी भने लगिसकेको छ,’ उनले भने, ‘पुल निर्माणका लागि तारन्तार ठेकेदार कम्पनीलाई लिखित पत्राचार गर्दासमेत टेर्दैनन् ।’पुल निर्माणका लागि संयुक्त रूपमा काम गर्ने गरी ३ कम्पनीले ठेक्का लिएका थिए । जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले काम पूरा हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर सुवेदीको भनाइ छ । २६ करोड ८२ लाख रुपैयाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी जिम्मेवारी लिएका हुन् ।पछिल्लो पटक गत वैशाखमा एक वर्ष समय थपेर निर्माणको जिम्मेवारी दिइए पनि ठेकेदार कम्पनी काम गर्न नआएको इन्जिनियर सुवेदीले जानकारी दिए । काम थालेको ९ वर्षमा कालीगण्डकीमा ४ वटा मात्र खम्बा ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुल निर्माण अलपत्र परेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । ‘काम थालेको यतिका वर्ष भइसक्यो ठेकेदार आउँदैनन्,’ स्थानीय सूर्य कँडेलले भने ।

महेन्द्र राजमार्गको कावासोती, दलदले, कोखे सडक हुँदै तनहुँको रिसिङ आउजाउ गर्न यो पुल आवश्यक पर्छ ।कालीगण्डकी करिडोरअन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै भिमाद पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।

Sharing Is Caring:

Leave a Comment