३९ अर्ब लागतमा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गरिँदै

Swastika Bhandari

फाल्गुन २६, २०८१काठमाडौँ — लक्ष्मी सनराइज बैंकको अगुवाइमा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता भएको छ । बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सम्झौता भएको हो ।काठमाडौंमा आयोजित एक समारोहबीच बैंक र उक्त कम्पनीबीच मुस्ताङ तथा म्याग्दीमा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न सम्झौता भएको हो ।आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जामा महत्त्वपूर्ण भूमिका खेल्ने लगानीकर्ताले जनाएका छन् । आयोजनाले २७ फागुन २०७५ सालमा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिएको थियो । साथै १७ फागुन २०७९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीको मुख्य प्रवर्द्धकमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान छन् । उक्त परियोजना निर्माणका लागि लक्ष्मी बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब रुपैयाँ छ । सहअगुवा बैंकका रूपमा रहेका ग्लोबल आईएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।अन्य सहभागी बैंकमा हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबीआई बैंकको ३ अर्ब र एभरेस्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँसमेत गरी कुल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ छ । उक्त आयोजना सन् २०२९ को जुनभित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन योजना रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले १०५६ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने कम्पनीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment