फाल्गुन २५, २०८१काठमाडौँ — पछिल्लो १० महिनामा टुजी इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या दोब्बरभन्दा धेरैले बढेको छ । गत वैशाखमा १४ लाख ७१ हजारले टुजी चलाउने गरेकामा माघमा आइपुग्दा देशभर ३२ लाख ६५ हजारभन्दा धेरैले यस्तो सेवा लिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपालमा इन्टरनेट सेवा प्रविधि फोरजी र फाइबर (एफटीटीएच) मा रूपान्तरण भइरहे पनि टुजी प्रयोगकर्ताको संख्या आश्चर्यजनक रूपमा बढिरहेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।प्राधिकरणको एमआईएस रिपोर्टअनुसार ब्रोडब्यान्ड प्रविधिअन्तर्गत माघमा टुजी प्रयोगकर्ताको संख्या ३२ लाख ६५ हजार ४०१ थियो । यो भनेको इन्टरनेट सेवा प्रयोग गर्नेमध्ये ११.२० प्रतिशतले अझै पनि टुजी चलाउँछन् भन्ने हो । हाल नेपालमा ब्रोडब्यान्ड प्रविधि प्रयोग गर्नेको संख्या देशको जनसंख्याभन्दा धेरै ४ करोड २७ लाख ६४ हजार १६९ र इन्टरनेट पेनिट्रेसन १४६.६३ प्रतिशत छ । यसमध्ये सबैभन्दा धेरै २ करोड ५१ लाख ९७ हजार (८६.४० प्रतिशत) ले फोरजी सेवा प्रयोग गर्छन् ।टुजी र फोरजी प्रयोगकर्ताको संख्या तलमाथि हुँदा थ्रीजी प्रयोगकर्ताको संख्या भने पछिल्ला महिनामा स्थिर देखिएको छ । कात्तिकयता नेपालमा थ्रीजी प्रयोगकर्ताको संख्या ९/१० लाख हाराहारी रहँदै आएको छ । गत वैशाखमा भने झन्डै ७२ लाख थ्रीजी प्रयोगकर्ता रहेकामा असोजमा स्वाट्टै घटेर ४ लाख २० हजारमा सीमित भएको प्राधिकरणको तथ्यांक छ । त्यसयता थ्रीजी प्रयोगकर्ताको संख्या उल्लेख्य बढ्न सकेको छैन ।
नेपालको मोबाइल इन्टरनेट क्षेत्रमा प्रमुख हिस्सा ओगटेको फोरजी सेवाका प्रयोगकर्ताको संख्या गएको वैशाखमा २ करोड १९ लाख ८२ हजार रहेकामा माघमा २ करोड ५१ लाख ९७ हजार पुगेको छ । यसको अर्थ १० महिनामा ३२ लाख १५ हजारभन्दा धेरै फोरजी चलाउनेहरू थपिएका छन् ।छिमेकी भारतलगायत देशमा कुल प्रयोगकर्ताको ६० प्रतिशतभन्दा बढी फाइभजीमा आबद्ध भइसकेका बेला नेपालमा भने टुजीको आकर्षण कायम रहेको हो । भारतमा टुजी चलाउनेको संख्या २५ देखि ३० करोड रहे पनि यो संख्या दुई–तीन वर्षदेखि स्थिर छ । नेपालमा भने टुजी चलाउने बढेका हुन् । फाइभजीका लागि परीक्षण गर्ने जिम्मेवारी पाएको नेपाल टेलिकमले यसमा कुनै प्रगति हासिल गर्न सकेको छैन ।विज्ञका अनुसार प्रयोगकर्ताहरू टुजीबाट सिधै फोरजीमा गइरहेका छन् । थ्रीजी फेज आउज (प्रयोगबाट हट्ने) चरणमा पुगेकाले यसमा सेवा प्रदायकले लगानी गर्नुको औचित्य कम हुँदै गएको कतिपयको राय छ । टुजी सस्तो र सर्वसुलभ हुनुका साथै फोरजी नपुगेका ग्रामीण क्षेत्रहरूमा यो नै प्रमुख इन्टरनेटको माध्यम छ ।
विश्वभर मोबाइल इन्टरनेट सेवा प्रदायकहरू थ्रीजी नेटवर्क हटाउँदै फोरजी र फाइभजी सेवा विस्तारमा लागेका छन् । नेपालमा भने सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्यान्डमा सञ्चालन भइरहेको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यसै आर्थिक वर्षभित्रमा टुजी सेवा बन्द गर्ने योजना रहेको जानकारी दिएको हो ।अघिल्लो महिना टेलिकमको २१औं वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले टुजी सेवा बन्द गर्नेबारे बताएकी थिइन् । टेलिकमले प्रविधि रूपान्तरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले फोरजीको विस्तारमा प्राथमिकता दिँदै टुजी सेवालाई विस्थापन गर्न लागेको हो । हालसम्म देशका ७७ जिल्लाका ७४४ पालिकामा नेपाल टेलिकमको फोरजी सेवा पुगिसकेको प्रबन्ध निर्देशक पहाडीको भनाइ थियो ।माघमा नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ताको संख्या ७ लाख ८२ हजार ३ सय र फोरजी प्रयोगकर्ताको संख्या १ करोड ३३ लाख ७४ हजार ६ सय ९१ थियो । सोही महिना निजी स्वामित्वको एनसेलका थ्रीजी प्रयोगकर्ताको संख्या १ लाख ३८ हजार ५ सय ६१ र फोरजी प्रयोगकर्ताको संख्या १ करोड १८ लाख २२ हजार ३५० रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।