फाल्गुन २५, २०८१गोरखा — गएको बर्खामा क्षति पुर्याएको सडक, कुलो र बाँध पुनर्निर्माण तथा मर्मत नहुँदा झनै जोखिम बढेको छ । सात महिनादेखि भासिएर जोखिमपूर्ण बनेको सडकको पहिरो नियन्त्रणको काम अझै अघि बढेको छैन । बजेट अभावका कारण बर्खाको बेला क्षति भएका संरचना मर्मत र पुनर्निर्माणको काम अघि बढाउन नसकिएको सरोकारवाला कार्यालयको भनाइ छ ।गत असार र साउनको वर्षाका कारण गोरखा बजारदेखि नाम्जुङसम्मको सडकको आधा दर्जन ठाउँमा ठूला पहिरो खसेका छन् । सहिद लखन गाउँपालिका र वडा कार्यालयले पहिरो नियन्त्रणका लागि पटक–पटक पूर्वाधार कार्यालयमार्फत अनुरोध गर्दै आएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सीमा क्षेत्र ढुंगाढेमा सामान्य वर्षामा पनि पहिरोले यातायात अवरुद्ध हुने जोखिम बढेको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले बताए । ‘बेसदेखि नै काम गर्ने हो भने यो पहिरो नियन्त्रण गर्न एक करोड लाग्छ,’ उनले भने, ‘अब पानी परे सडक नै अवरुद्ध हुन्छ, पहिरो नियन्त्रण गर्नुपर्यो भनेर कति पटक भन्यौं, कार्यालयले पैसा छैन भनेर काम नै अघि बढाएन ।’ढुंगाढेको सडक छेउबाट पहिरो खस्न सुरु भएकाले सडक वैकल्पिक रूपमा खोल्नुपर्ने अवस्था देखिएको श्रेष्ठको भनाइ छ । असार अन्तिम साताको वर्षाले ढुंगाढे–बुंकोट–नाम्जुङ सडक खण्डअन्तर्गत वनकाली, मकैपुर डाडागाउँ, मकैपुर वसन्ते, जलकन्या खाला, नाम्जुङ डाँडामा पहिरो खसेको छ । त्यस्तै गोरखा बजार–ढुंगाढे सडक खण्डअन्तर्गत पनि ढुंगाढे चोक, गोरखा नगरपालिका–८ बराह, खोलखोले भीरमा खसेको पहिरोले जोखिम बढाएको छ । तत्काल पहिरो नियन्त्रण नगरे आगामी बर्खामा झनै जोखिम बढ्ने स्थानीय बताउँछन् । पहिरो नियन्त्रणका लागि करिब दुई करोड लागत अनुमानसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा पठाइएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जनाए । बजेट अभावले नै पहिरो नियन्त्रणको काम अघि बढाउन नसकिएको उनको भनाइ छ ।
गत वर्षको वर्षाले भीमसेन थापा गाउँपालिका–१ गोलाइचे निवेल फाँट सिँचाइ नहर पूर्ण रूपमा क्षति पुगेको छ । नहरको दुई ठाउँमा ४० मिटर लाइनिङ भएको नहरको मर्मतका लागि १५ लाख रुपैयाँ लाग्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले लागत अनुमान गरेको छ । सात महिना बित्दासम्म बजेट अभावले नहर मर्मत हुन सकेको छैन । बर्खाको बेला गोरखा नगरपालिका–१० छेवेटारस्थित सिर्दिखोलाको भेलले दुई हेक्टर धानबालीमा क्षति पुर्याएको थियो । उक्त स्थानमा तटबन्धका लागि एक करोड लाग्ने अनुमान गरिए पनि चालु आर्थिक वर्ष १० लाख मात्र बजेट रहेको कार्यालयका प्रमुख मिलन पौडेलले बताए । ‘टालटुले कामभन्दा पनि प्राविधिक स्टमेट गरेर अघि बढ्दा दीर्घकालीन हुन्छ, तर बजेट अभावले काम अघि बढ्न सकेको छैन,’ उनले भने ।गत वर्षको वर्षात्ले जिल्लाभर ५७ वटा नहर, सिँचाइ कुलो, तटबन्धलाई क्षति पुर्याएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भनाइ छ । तटबन्ध तथा कुलो र नहर मर्मत तथा पुनर्निर्माणका लागि ८ करोड १० लाख लाग्ने अनुमान छ । ‘असारपछि क्षति पुर्याएकाले चालु आर्थिक वर्षको कार्यक्रममा समेट्न सकेनौं,’ पौडेलले भने, ‘विपद्ले क्षति पुर्याएको योजनाको मर्मत र पुनर्निर्माणका लागि बजेट नै छैन ।’गत असोज १८ मा प्रदेश र जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिसहितको विवरण पेस गरेको पौडेलले जनाए । ‘प्रदेशको मन्त्रालयमा पनि क्षतिको विवरणसहित पठाएका छौं, अहिले बजेट अभाव छ, कोसिस गर्दै छौं भन्ने कुरा भएको छ,’ उनले भने ।
विपद्ले क्षति पुर्याएको योजनामा मात्र होइन, निर्माणाधीन योजनामा समेत बजेट अभाव देखिएको छ । पूर्वाधार कार्यालयमार्फत ठेक्का लागेर काम भइरहेका १८ योजनामा पनि बजेट अभाव देखिएको कार्यालयले जनाएको छ ।काम भइरहेका १३ सडक र ५ पुलको योजनामा बजेट अभाव रहेको कार्यालयका प्रमुख गणेश सुवेदीले बताए ।
अजिरकोट गाउँपालिकास्थित मुच्चोकटार–झ्याल्ला मन्दिर कुसुन्डे सडकको चार किलोमिटर सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष एक करोड ६४ लाख बजेट विनियोजन गरिएको छ । सात करोडमा ठेक्का लागेको सडकको ५० प्रतिशत काम पूरा भइसकेको सुवेदीले जनाए । ‘चालु वर्ष आएको एक करोड ६४ लाख रकम ठेकेदारले लगिसके, डेढदेखि दुई करोड बराबरको काम भइसकेको छ, बाँकी कामअनुसारको भुक्तानी दिन सकेका छैनौं,’ उनले भने, ‘अन्य योजनाको पनि काम भएको बिल कार्यालयमा आइरहेको छ, पैसा नभएर भुक्तानी दिन सकिएको छैन ।’
नयाँ बहुवर्षीय योजनाका लागि तत्काल ९ करोड बजेट आवश्यक देखिएको सुवेदीले बताए । ‘तत्काल चाहिने रकम र चालु आर्थिक वर्षको अन्त्यसम्म चाहिने दुई विकल्पसहित काम नरोकियोस् भनेर थप बजेट मागेका छौं,’ उनले भने । सकिएका केही योजनामा पनि भुक्तानी दिन नसकिएको उनले जनाए । चालु आर्थिक वर्षमा नयाँ बहुवर्षीय योजनाका लागि २८ करोड र पुराना बहुवर्षीय योजनाका लागि ५८ करोड थप बजेट गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग मागिएको सुवेदीको भनाइ छ । बजेट प्राप्त भए केही योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने कार्यालयले बताएको छ ।