फाल्गुन २३, २०८१पर्सा — कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जले फागुन लागेयता १० हजार ५ सय टन डीएपी मल वितरण गरेको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार दुई महिनायता दुई कन्साइन्मेन्टमा गरी १९ हजार टन डीएपी मल भित्रिएको थियो । त्यसमध्ये १० हजार ५ सय टन पठाइएको हो ।‘मधेश प्रदेशका सबै जिल्लामा डीएपी र पोटास मल परिचालन गरिएको छ,’ उनले भने, ‘बागमती र गण्डकी प्रदेशका जिल्लाबाट माग नआएकाले ती जिल्लामा भने पठाइएन ।’ यसै अवधिमा १ हजार टन पोटास पठाइएको छ ।
मधेशका जिल्लामा किसानलाई हाल चैतेधानको बिउ छर्न तथा उखु र सुर्तीमा हाल्न डीएपी आवश्यक छ । कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयको कार्यक्षेत्र मधेश, बागमती र गण्डकी प्रदेशका गरी १६ जिल्ला रहेका छन् ।कम्पनीले २ महिनायता ग्लोबल टेन्डरबाट कन्साइन्मेन्ट १३३ र कन्साइन्मेन्ट १३४ को गरी दुई वटा कन्साइन्मेन्टको डीएपी कार्यालयले भित्रएको छ । दुवै कन्साइन्मेन्ट अन्तर्गत २५/२५ हजार गरी कुल ५० हजार टन मलमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले १९ हजार टन, १७ हजार टन भैरहवा र १४ हजार टन विराटनगर प्रादेशिक कार्यालयले पाएका छन् ।पोटास धान, गहुँ, तरकारी, उँखु, सुर्ती बालीमा छरिन्छ । यो किटनाशक र जमिनको उर्वराशक्ति बढाउन पनि उपयोगी हुन्छ ।
युरिया भित्रिने अझै अनिश्चित
आउँदो बर्खे धानबाली सिजनलाई लक्षित गरी कम्पनीले ग्लोबल टेन्डरबाट ६० हजार टन युरिया मल आपूर्तिको लक्ष्य राखेको भए पनि अनिश्चित देखिएको पाण्डेले बताए । धान बालीका लागि युरिया मल अत्यावश्यक हुन्छ । मल अभावमा धानको उत्पादन नै प्रभावित हुने सम्भावना हुन्छ ।सन इन्टरनेसनल र आदित्य बिरला कम्पनीले ३०/३० हजार टन मल आपूर्तिको ठेक्का पाएकोमा अझै भारतीय बन्दरगाहमा समेत मल आइनसकेको पाण्डेले बताए । ‘अब ढिलो भए वर्षे धान बाली सिजनका लागि मल आपूर्तिको तालिका बिग्रिन सक्छ,’ उनले भने ।