फाल्गुन २३, २०८१जनकपुर — धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा साढे १२ करोड रुपैयाँ लगानीमा मधेश प्रदेशकै ठूलो वाटरपार्क निर्माण गरिएको छ । जनकपुरबाट ढल्केवर जाने सिक्स लेन सडकसंगै रहेको वन्डर ल्यान्ड वाटरपार्क शुक्रबारदेखि सञ्चालनमा आउँदै छ ।जनकपुर क्षेत्रको यो नै पहिलो वाटर पार्क हो । जानकी फन पार्क एण्ड रिर्सोट प्रालिअन्तर्गत व्यवसायी गुड्डु जैन, अभिषेक गोयन्का, डा. मोनी महतो र खुश्वु जैन सर्राफको लगानीमा वन्डर ल्यान्ड वाटरपार्कको निर्माण गरिएको हो ।वाटरपार्कमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक जैनले जनकपुर घुम्न आउने पर्यटकलाई लक्षित गरेर वाटर पार्क निर्माण गरिएको बताए । ‘यस भेगको पर्यटकिय विकास र जनकपुर घुम्न आउने पर्यटकलाई केहीबेर रोक्न वाटर पार्क बनाइएको हो,’ उनले भने,‘गर्मीको सिजनमा वाटर पार्कले सितलता प्रदान गर्नेछ ।’
करिब ३ लाख स्क्वायर फिटमा फैलिएको वन्डर ल्यान्ड वाटर पार्कमा दुई लेनमा मल्टिल्यान स्लाइड, वडी वेभ स्लाइड, हाइ स्पिड वडी स्लाइड, ओपेन वडी ट्रनिङ स्लाइड, वेभ पुल, रेन डान्स, ५ वटा विभिन्न प्लेटफर्मका वाटर प्ले सिस्टम, ६ वटा बिभिन्न प्रकारका सावर, फूड कोर्ट र पार्टी हल रहेको छ ।दक्ष र अनुभवी प्राविधिकको निगरानीमा वाटर पार्क विहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने लगानीकर्ता गोयन्काले जानकारी दिए । ‘३ फिटमुनिका बालबालिकालाई प्रवेश निशुल्क छ,’ उनले भने,‘अरुको हकमा भने करबाहेक ८ सय ४० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।’गोयन्काका अनुसार वाटर पार्कमा प्रयोग हुने पानीको स्वच्छता कायम राख्न ४ वटा ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ । यस्तै, वाटर पार्कभित्रै १८ हजार स्क्वायर फिटमा मधेश प्रदेशकै ठूलो रेष्टुरेन्ट कम्प्लेक्स निर्माणाधिन रहेको प्रवन्ध निर्देशक जैनले बताए । ‘रिर्सोट, व्यान्क्यूट हल, बच्चाका लागि प्ले जोन पनि निर्माण गर्ने हाम्रो योजना छ,’ जैनले भने,‘जनकपुर क्षेत्रमा अत्याधुनिक वाटर पार्क बनाउन हामीले लगानी गर्यौं । यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक छ ।’
जैनका अनुसार वाटर पार्कमा एकैसाथ दुईहजार जना अट्ने क्षमता छ ।