ट्रम्पको कर नीतिले विश्व सेयर बजारमा हलचल

Swastika Bhandari

फाल्गुन २३, २०८१काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गरेका प्रायः सबै निर्णयले विश्व अर्थतन्त्रलाई नै तरंगित बनाएको छ । जसको प्रत्यक्ष असर विश्व व्यापारसँगै सेयर बजारमा पनि देखिएको छ । सबैभन्दा बढी असर अमेरिकी सेयर बजारमा परेको छ । यद्यपि बिहीबार अमेरिकाका मुख्य सेयर बजारहरू बढेर बन्द भएका छन् । युरोप, पश्चिम एसिया तथा अफ्रिका (एसिया प्यासिफिक) क्षेत्रका सेयर बजार आंशिक रूपमा मात्र प्रभावित छन् । तर, दक्षिण एसियाली सेयर बजार भने केही प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयात कर लागू गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोले गैरकानुनी आप्रवासन र अवैध फेन्टनाइलको तस्करी नरोकेको भन्दै आयात कर लगाएका हुन् । क्यानडेली ऊर्जा उत्पादनमा भने १० प्रतिशत कर लगाइएको छ । त्यस्तै, चीनबाट हुने आयातमा पनि १० प्रतिशत कर थप गरिएको छ ।ट्रम्पले दोस्रो कार्यकालमा पहिलो पटक कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभन्दा केही घण्टा अघिदेखि नयाँ कर कार्यान्वयनमा ल्याइएको हो । ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै विदेशी वस्तुमा चर्को कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले यसअघि नै चीन र युरोपेली संघबाट अमेरिका भित्रने सामानमा १० प्रतिशत कर लगाउने बताइसकेका छन् । अमेरिकी निर्णयको क्यानडा र चीनले तत्काल प्रतिक्रिया दिएका छन् । क्यानडाले १ खर्ब ५५ अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत आयात करको घोषणा गरेको छ । यसले पनि अमेरिकासँगै अन्य क्षेत्रका सेयर बजार पनि प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

अमेरिका

अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक बिहीबार उच्च अंकले बढेर बन्द भए । वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको ‘एस एन्ड पी ५००’ सूचक ६४.४८ अंक (१.१२ प्रतिशत) र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको ‘नास्डाक’ कम्पोजिट २६७.५७ अंक (१.४६ प्रतिशत) बढेर बन्द भए । मासिक रूपमा ‘एस एन्ड पी ५००’ सूचक ३.९६ प्रतिशतले घटेको देखिन्छ भने वार्षिक रूपमा यो सूचक १३.७७ प्रतिशतले सकारात्मक छ ।

मासिक रूपमा ७.१५ प्रतिशतले गिरावट आएको ‘नास्डाक’ मा वार्षिक रूपमा भने अझै १४.४५ प्रतिशतले सकारात्मक छ । खासगरी राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि भएका निर्णयका कारण सेयर बजार प्रभावित भएका थिए । यसकारण दैनिक, साप्ताहिक र मासिक रूपमा सेयर बजारहरू ऋणात्मक भएका छन् । तर, उनी दोस्रो पटक राष्ट्रपति हुनुअघि सेयर बजारहरू उच्च दरले बढेकाले अझै वार्षिक रूपमा सूचकहरू सकारात्मक छन् ।

यसैगरी, ३० वटा कम्पनीको संयुक्त सूचक ‘डाउजोन्स इन्डस्ट्रियल एभरेज’ बिहीबार ४८५ अंकले बढेर बन्द भए पनि मासिक रूपमा ३.८९ प्रतिशतले गिरावट आएको छ । यद्यपि पछिल्ला केही दिनयता यो सूचकमा भारी गिरावट आएको छ । जसअनुसार मंगलबार मात्र यो सूचकमा ६५० अंकको गिरावट आएको थियो । एकै दिन यति धेरै गिरावट ट्रम्प राष्ट्रपति भएयताकै सबैभन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औंल्याएका छन् । यद्यपि बुधबार र बिहीबार यो सूचक उच्च अंकले बढेको छ ।

यस्तै, न्युयोर्क स्टक एक्सचेन्जको संयुक्त परिसूचकमा पनि बिहीबार २ सय ५९ अंक (१.३३ प्रतिशत) र एस एन्ड पीको संयुक्त सूचकांक २ सय ९८ अंक (१.२२ प्रतिशत) ले बढेर बन्द भए । मासिक रूपमा न्युयोर्क स्टक २ प्रतिशत र एस एन्ड पीको संयुक्त सूचकांक २.६० प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ । तर, वार्षिक रूपमा यी दुवै सूचकांक सकारात्मक अवस्थामा छन् ।

युरोप

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको निर्णयले युरोपका सेयर बजार धेरै प्रभावित नभए पनि बिहीबार अधिकांश बजार घटेर बन्द भएका छन् । बिहीबारको कारोबारमा पेरिसस्थित ‘क्याक ४०’ सूचक ४१.४१ अंक (०.५१ प्रतिशत) ले घटेर बन्द भएको छ । फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ सूचक ११३ अंक (०.४९ प्रतिशत) ले बढेर बन्द भयो । यी सूचकहरू मासिक र वार्षिक रूपमा पनि उच्च अंकले बढेका छन् ।

लन्डनस्थित ‘फुट्सी १००’ पनि ७९.५८ अंक (०.९१ प्रतिशत) ले घटेर बन्द भएको छ । मासिक रूपमा यो सूचकमा ०.५४ प्रतिशतले गिरावट छ भने वार्षिक रूपमा १३.१६ प्रतिशतले बढेको छ । डेनमार्क, फ्रान्सलगायत राष्ट्रका सेयर बजार बिहीबार

ओरालो लागेका छन् । तर, टर्की, पोल्यान्ड, जर्मनी, दक्षिण अफ्रिकालगायतका सेयर बजार भने केही बढेका छन् ।

एसिया प्यासिफिक

राष्ट्रपति ट्रम्पका पछिल्ला निर्णयबाट एसिया प्यासिफिक क्षेत्रका सेयर बजार आंशिक प्रभावित भएका छन् । यो क्षेत्रका प्रमुख सेयर बजार पनि मासिक र वार्षिक रूपमा केही घटेका छन् भने केही बढेका छन् । जसअनुसार बिहीबार जापानको ‘निक्केई’ २८६ अंक अथवा ०.७७ प्रतिशतले बढेर बन्द भएको छ । तर, मासिक रूपमा यो सूचक ३.४९ र वार्षिक रूपमा ५.९५ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ ।

टोकियो स्टक एक्सचेन्जको मूल्य सूचकांक टोपिक्स पनि ३३.२० अंक अथवा १.२२ प्रतिशतले बढेको छ । तर, मासिक रूपमा ०.०३ प्रतिशतले घटेको यो सूचक वार्षिक रूपमा ०.७६ प्रतिशतले सकारात्मक छ । अस्ट्रेलियाको मुख्य सेयर बजार ‘एस एन्ड पी– एएसएक्स २००’ करिब ४६.४० अंक (०.५७ प्रतिशत) ले घटेको छ । मासिक ५ प्रतिशतले गिरावट भएको यो सूचकांक वार्षिक रूपमा भने ४.६७ प्रतिशतले बढेको छ ।

प्यासिफिक क्षेत्रका १५ मुलुकमा स्टकको संयुक्त सूचकांक ‘एमएससीआई एसिया प्यासिफिक’ झिनो अंकले घटेर बन्द भएको छ । मासिक रूपमा पनि सामान्य सकारात्मक देखिएको यो सूचक वार्षिक रूपमा भने ६.६४ प्रतिशतले बढेर बन्द भएको देखिन्छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पका निर्णयले चीन र हङकङको सेयर बजारमा कुनै प्रभाव परेको देखिँदैन । चीनका सेयर बजार निरन्तर बढेका छन् भने हङकङमा सामान्य प्रभाव परेको छ ।

यस्तै, भारतका सेयर बजार बिहीबार बढेर बन्द भए पनि मासिक र वार्षिक रूपमा भने ऋणात्मक अवस्थामै देखिन्छन् । भारतका बम्बई स्टक एक्सचेन्ज (बीएसई १००), सेन्सेक्स, निफ्टी ५० लगायत सूचकांक बुधबार बढेर बन्द भएका छन् । तर, मासिक रूपमा बम्बई स्टक एक्सचेन्ज (बीएसई १००) ४.८९ प्रतिशतले घटेको छ भने वार्षिक रूपमा ०.७५ प्रतिशतले सकारात्मक छ ।

बिहीबार सेन्सेक्स ६०२ अंक बढेर बन्द भयो । मासिक रूपमा ४.७६ प्रतिशतले ऋणात्मक रहेको यो सूचक वार्षिक रूपमा ०.३४ प्रतिशतले बढेको छ । निफ्टी ५० पनि २०० अंक बढेर बन्द भएको छ । तर, मासिक रूपमा ४.४९ प्रतिशतले घटेको यो बजार वार्षिक रूपमा ०.३१ प्रतिशतले बढेको ब्लुमबर्गले जनाएको छ ।

नेपाल

प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय प्रभाव नपर्ने भए पनि नेपालमा पछिल्ला दिनमा सेयर बजार निरन्तर घटिरहेको छ । जसअनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २.७० अंकले घटेर २ हजार ८ सय १७.४३ बिन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो २.७० प्रतिशतले घटेको हो । सोमबार, मंगलबार, बुधबार उच्च अंकले घटेको नेप्सेले बिहीबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

उक्त दिन कारोबारमा आएका मध्ये १०० वटा कम्पनीको सेयर मूल्य बढ्यो, १३१ वटाको घट्यो भने बाँकी १२ कम्पनीको स्थिर रह्यो । ९३ हजार ८ सय ९५ पटकको कारोबारमा १ करोड ९० लाख ४१ हजार ५ सय १ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १० अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम घटेको हो ।

Sharing Is Caring:

Leave a Comment