२३ फागुन, काठमाडौं । गत साता ७२ अंक बढेको सेयर बजार यो साता जम्मा ३ अंक बढेको छ । गत साता २८१५ मा रहेको बजार यो साता २८१८ अंकमा पुगेको छ ।
५ दिन खुलेको बजार ४ दिन घट्यो । यद्यपि एक दिनको वृद्धिलाई ४ दिनको गिरावटले पनि जित्न सकेन । पहिलो दिन आइतबार ७५.२४ अंक बढेको बजार त्यसपछि लगातार घट्यो । सोमबार १३.६१, मंगलबार ३०.३६, बुधबार २५.१६ तथा बिहीबार २.७० अंक घट्यो ।यो साता सोमकार भएको कारोबार भदौ ९ यताकै उच्च हो । सो दिन १४ अर्ब २८ करोडको कारोबार भयो । पहिलो दिन आइतबार १४ अर्ब २५ करोड, मंगलबार १२ अर्ब ९४ करोड, बुधबार १० अर्ब ९७ करोड तथा बिहीबार १० अर्ब १० करोडको कारोबार भयो ।
यो साता विकास बैंक सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढ्यो । जीवन बीमा, उत्पादन र अन्य सेक्टर २–२ प्रतिशत बढे । यो साता बैंकिङ, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स, होटल, र व्यापार समूह घटेका छन् ।
यो साता बजारमा समूहगत उतारचढाव
समूह | गत साताको अंक | यो साताको अंक | वृद्धिदर |
बैंकिङ | १४३१ | १४१७ | –०.९७ |
विकास बैंक | ५७३१ | ५९११ | ३.१४ |
फाइनान्स | २८०२ | २७८२ | –०.७१ |
हाइड्रोपावर | ३८१८ | ३७८८ | –०.७८ |
जीवन बीमा | १३९५७ | १४२३८ | २.०१ |
निर्जीवन बीमा | १२९५४ | १३१०१ | १.१३ |
माइक्रोफाइनान्स | ५२७३ | ५२०३ | –१.३२ |
होटल तथा पर्यटन | ६७९० | ६७६८ | –०.३२ |
उत्पादन तथा प्रशोधन | ७४६४ | ७६१६ | २.०३ |
लगानी | ११४ | ११४ | ०.०० |
व्यापार | ४२९३ | ४२७४ | –०.४४ |
अन्य | २४७४ | २५२५ | २.०६ |
विकास बैंकतिर फर्कियो उत्साह
विगतका दुई साता अन्य समूहमा आकर्षण देखिएको थियो । अन्य समूह गत साता मात्रै १० प्रतिशत बढेको थियो । यो साता विकास बैंकमा आकर्षण देखियो । विकास बैंक सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढ्यो । गत साता विकास बैंक सेक्टर जम्मा ०.८२ प्रतिशत बढेको थियो ।
विकास बैंकमा पनि लोक्याप कम्पनीहरु उल्लेख्य बढेका छन् । तर राष्ट्रियस्तरका विकास बैंकहरुको मूल्य तुलनात्मक रुपमा बढ्न सकेको छैन । यो साता मूल्य धेरै बढेका टप १० कम्पनीमा तीन वटा विकास बैंक छन् ।
यो साता बजारमा मूल्य उच्च दरमा बढेका कम्पनी
कम्पनी | हालको मूल्य | वृद्धिदर % |
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स | १६७२ | ६१.०४ |
घलेम्दी हाइड्रोपावर | ३०२ | १४.८३ |
नारायणी डेभलपमेन्ट बैंक | १८०० | ११.६८ |
बोटलर्स नेपाल बालाजु | २१,६०९ | ११.३९ |
शिखर इन्स्योरेन्स | ८६१ | ९.७० |
बरुण हाइड्रोपावर | ५३३ | ९.६७ |
सिन्धु विकास बैंक | १२५९ | ९.०१ |
दिव्यश्वरी हाइड्रोपावर | ४०९.४० | ८.६२ |
सामुदायिक लघुवित्त | २४२२ | ७.८८ |
सप्तकोशी विकास बैंक | १२२५ | ७.७४ |
धेरै कारोबार भएका कम्पनी
यो साता हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार भएको छ । कम्पनीको ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो । साताभर कम्पनीको मूल्य ४.१८ प्रतिशत बढ्यो।
त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी, साहस ऊर्जा, एचआईडीसीएल क्रमशः अगाडि रहे ।
यो साता मूल्य धेरै घटेका कम्पनी
कम्पनी | हालको मूल्य | गिरावट दर % |
समाज लघुवित्त | २९६६ | –१६.१९ |
सपोर्ट माइक्रोफाइनान्स | २८८० | –१२.११ |
मानुषी लघुवित्त | १९४० | –११.७८ |
अपरहेवाखोला हाइड्रोपावर | ८७८ | –११.६१ |
लाइफ इन्स्योरेन्स नेपाल | ११८० | –१०.६७ |
धौलागिरि लघुवित्त | १७०६ | –९.५४ |
नेपाल हाइड्रो डेभलपर्स | ९०४ | –९.३८ |
सिर्जनशील लघुवित्त | २४४९ | –८.११ |
नेपाल रिपब्लिक मिडिया | ५३८.५० | –७.६३ |
इमर्जिङ नेपाल | १२७२ | –७.५६ |
कस्तो रहला आगामी साताको बजार ?
साताका अन्तिम चार दिन घटेको बजारलाई लगानीकर्ताले ‘करेक्सन’का रुपमा लिएका छन् । तर करेक्सनको साइज सानो छ, अर्थात् आइतबार एक दिनको वृद्धिभन्दा चार दिनको ‘करेक्सन’ साइज सानो देखिएकाले बजारमा अझै केही अंकमा करेक्सन आउन सक्ने छ । आइतबार एकैदिन बजार ७५ अंक बढेको थियो ।
तर अन्तिम दिन बिहीबारको गिरावट जम्मा २.७ अंकको रहेकाले कतिपयले ‘करेक्सन’ सकिएको रुपमा अर्थ्याएका छन् । फागुन १ गते २६७८ अंकमा रहेको बजार लगातार बढेर फागुन १८ गते २८९० अंकसम्म पुगेको थियो ।
लगातार २१२ अंक बढेको बजार पछिल्ला चार दिनमा कुल ७१.८३ अंकको करेक्सन देखियो । सो ‘करेक्सन’ पूरा भए/नभएको तथ्य आगामी साताको सुरुवाती केही दिनको कारोबारले नै पुष्टि गर्नेछ ।