खाद्य वीरगन्ज शाखाले बन्द गर्‍यो धान खरिद 

Swastika Bhandari

फाल्गुन २२, २०८१पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष धान खरिद बन्द गरेको छ । केन्द्रबाटै धान खरिद गर्ने पत्र आएसँगै फागुन २० देखि धान खरिद बन्द गरिएको शाखाका सूचना अधिकृत समिर दाहालले जानकारी दिए । ‘केन्द्रले पनि देशभरका शाखाबाट लक्ष्यअनुरूप किसानबाट धान नआएपछि सबै शाखामा एक साथ धान खरिद बन्द गरेको सूचना जारी गरेको हो,’ उनले भने, ‘शाखाले सोही सूचनालाई आधार मानेर खरिद बन्द गरेको हो ।’

यस वर्ष मंसिर २० देखि धान खरिद सुरु गरेको शाखाले ४ हजार १ सय ८० क्विन्टल मात्र धान खरिद गर्न सक्यो । किसानबाट पर्याप्त धान नआएपछि शाखाले बाराको महागढीमाई नगरपालिकास्थित विश्वकर्मा बाबा कृषि सहकारी संस्थासँग पनि १ हजार ८ सय ५४ क्विन्टल ३० किलो मात्र धान खरिद गरेको थियो ।दाहालले भने धान खरिद सुरु गर्दा खाद्यले बढी मूल्य दिए पनि पछि निजी क्षेत्रले बढी मूल्य दिएपछि किसानले खाद्यलाई धान बिक्री गर्न नल्याएको हुन सक्ने बताए । हाल निजी क्षेत्रले सोना मन्सुली धान प्रतिक्विन्टल ३ हजार ७ सय रुपैयाँमा खरिद गरिरहेको छ ।खाद्यले यो धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको थियो । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले नै निर्धारण गरेको हो ।

यस वर्ष वीरगन्ज शाखाले केन्द्रबाट ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । जसमा ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा थियो । जिरा मसिनो धान प्रतिक्विन्टल ४ हजार रुपैयाँमा खरिद खुल्ला गरियो तर किसानले एक क्विन्टल पनि जिरा मसिनो धान बिक्री गर्न ल्याएनन् । यो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको थियो ।शाखाले यस वर्ष गत वर्षभन्दा २० दिनअघि नै धान खरिद खुल्ला गरे पनि किसानले अपेक्षाकृत रुपमा खाद्यलाई धान बिक्री गर्न ल्याएनन् । गत वर्ष पनि किसानले निजी क्षेत्रबाटै बढी मूल्य पाएपछि खाद्यलाई धान बिक्री गर्न ल्याएका थिएनन् ।

Sharing Is Caring:

Leave a Comment