नदीजन्य ठेक्कामा जनप्रतिनिधिमै विवाद

Swastika Bhandari

फाल्गुन २२, २०८१रौतहट — गत वर्ष बृन्दावन नगरपालिका प्रमुख विनोदप्रसाद कुर्मीले मनोमानी ढंगले अमानतमा बागमती खोलामा नदीजन्य वस्तु उत्खनन गरेको भन्दै उपप्रमुख संगीता राम र वडाध्यक्षहरूले विरोध गरे । नगरप्रमुख कुर्मीले अमानतमा उत्खनन गर्न आदेश दिएपछि उपप्रमुख र वडाध्यक्षहरू उनीविरुद्ध खनिएका हुन् । यस पटक पनि वडाध्यक्षहरू उत्खननको विरोधमा छन् ।नगर प्रमुख कुर्मीले बागमतीस्थित रमौलीघाटको गत भदौ २३ मा ठेक्का लगाएदेखि नै विरोध भइरहेको छ । शिवशंकर निर्माण सेवा गौर–३ ले २ करोड १० लाखमा उक्त ठेक्का सकारेको नगरप्रमुख कुर्मीले जनाए । ठेक्का लगाउँदा धेरैजसो जनप्रतिनिधिसित सल्लाह नगरेको भन्दै वडाध्यक्ष सिकिन्दर पटेलले विरोध जनाए । ‘बर्सेनि नियमविपरीत नगरप्रमुख कुर्मीले नदी उत्खननको ठेक्का लगाउँदै आएकाले हामीले विरोध गरेका हौं,’ उनले भने, ‘जथाभावी खन्ने, परिणामभन्दा बढी उत्खनन गर्ने जस्ता हर्कत गरेकाले ठेक्का लगाउँदा सबैको रायसुझाव र सहमतिमा गरौं भनेका हौं ।’गत वर्ष ठेक्का लगाउने तयारी गर्दा उपप्रमुख र वडाध्यक्षहरूको विरोधपछि नगरप्रमुख कुर्मीले ठेक्का लगाउन नसकेर अमानतमा नदीजन्य वस्तुको उत्खनन गरेका थिए । त्यसलाई रोक्न जनप्रतिनिधिहरूले डिभिजन वन कार्यालय र अख्तियारमा समेत उजुरी दिएका थिए । तर नगरप्रमुख कुर्मीले नदीजन्य वस्तु निकासीको ठेक्कामा अनियमितता नभएको दाबी गरेका छन् ।

तत्कालीन नगरप्रमुख गोपाल रायसँग मिलेर ठेकेदारले मनोमानी ढंगले उत्खनन गरेको भन्दै फतुवा विजयपुरका तत्कालीन उपप्रमुख कान्तिदेवी साहले जनप्रतिनिधिलाई साथै लिएर लालबकैया नदीमै पुगेर एस्क्काभेटरको साँचो खोसेकी थिइन् । नगरपालिकाले २०७८ असोज १७ मा लालबकैयास्थित बोटवा घाटको ठेक्का आह्वान गरेको थियो । कीर्तिपुरको ओम गौरी शंकर इन्फ्रास्ट्रचर प्रालिले १ करोड ७१ लाख ७१ हजार १ सय ७५ मा उक्त ठेक्का सकारेको थियो ।जनप्रतिनिधिकै विरोधका बाबजुद नदीमा यसरी उत्खनन निरन्तर चलेको थियो । उक्त खोलाको ठेक्काको रकम नगरपालिकामा दाखिला नगरेको भन्दै नगरप्रमुख गोपाल रायविरुद्ध अख्तियारमा मुद्दा चलेपछि निलम्बनमा परेका थिए । त्यसपछि फतुवा विजयपुरमा जनप्रतिनिधि नदीजन्य वस्तु ठेक्का लगाउने पक्षमा छैनन् ।लालबकैया नदीको ठेक्कामा पनि विरोध हुँदै आएको छ । जनप्रतिनिधिकै विरोधका कारण दुई आर्थिक वर्षदेखि नदीजन्य वस्तुको ठेक्का लागेको छैन । नदीको ठेक्कामा अनियमितता हुने गरेको एक वडाध्यक्षले सुनाए । ‘हामी ठेक्का लागोस् भन्ने पक्षमा छैनौं,’ उनले भने, ‘नदीजन्य वस्तु उत्खननमा परिणामभन्दा धेरै लैजाने र राजस्व प्रभावित हुने हुँदा हामीले विरोध गर्दै आएका छौं ।’

तत्कालीन नगरप्रमुख गोपाल राय नदीजन्य वस्तुको ठेक्का लगाउँदा निलम्बनमा परेपछि निमित्त नगरप्रमुख अमबेया खातुन ठेक्का लगाउने पक्षमा छैनन् । ‘जनप्रतिनिधि साथीहरू सबै विरोधमा उत्रन्छन्, अनि यस्तो अवस्थाका कसरी ठेक्का लगाउने,’ उनले भनिन्, ‘ठेक्का लगाउन नसक्दा आन्तरिक आयस्रोत प्रभावित हुन्छ ।’ नदीजन्य वस्तुको ठेक्का लगाउँदा नगरपालिकालाई बर्सेनि डेढ करोडभन्दा बढी आम्दानी हुन्थ्यो ।यता गुजरा नगरपालिकाको लमाहा खोलाघाटको दुई वर्षदेखि ठेक्का लागेको छैन । यस नगरपालिकामा पनि जनप्रतिनिधि भित्री रूपमा ठेक्का लगाउने पक्षमा छैनन् । नदीजन्य वस्तुको ठेक्कामा ठेकेदार र नगरप्रमुखको मिलेमतो हुने गरेको बृन्दावन नगरपालिकाका नगरप्रमुख प्रत्याशी प्रेमशंकर यादवले आरोप लगाए । ‘बागमतीको ठेक्का लगाउँदा कति अनियमितता भयो भन्ने हामीले प्रत्यक्ष देखेका छौं,’ उनले भने, ‘व्यवस्थित र कानुनसम्मत कुनै पनि नगरपालिकाले उत्खनन गरेको पाइँदैन ।’

Sharing Is Caring:

Leave a Comment