२१ फागुन, बुटवल । बुटवलका चार व्यावसायिक संस्थाले पसल, उद्योग वा व्यवसाय चिनाउन साइनबोर्ड राखे वापत बुटवल उपमहानगरले लिंदै आएको कर खारेज गर्न माग गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी साइनबोर्ड कर खारेजी नगरे कर नतिर्ने घोषणा गरेका छन् । चार व्यावसायिक संस्थाहरूले ६० स्क्वायर फुटसम्मको साइनबोर्डको कर नतिर्ने घोषणा गर्दै त्यसभन्दा बढी बोर्ड राखे कर तिर्न तयार रहेको बताएका छन् ।कोरोना महामारीको असरले ओरालो लागेको व्यवसाय आर्थिक मन्दीले झनै थला परेको अवस्थामा दोहोरो, तेहोरो कर, चर्को घर भाडा र बहाल करले व्यवसायी पलायन हुने अवस्थामा साइनबोर्ड राखेको समेत कर असुल्नु अव्यावहारिक भएको भन्दै उनीहरूले कर नलिन माग गर्दै गत २ असारमा बुटवल उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।
नगर प्रमुख र उपप्रमुखसँग पटक–पटक भएका वार्तामा समस्या समाधानको आश्वासन दिइएको तर कर उठाउने ठेक्का पाएको कम्पनीबाट व्यवसायीमाथि जबरजस्ती भएपछि उनीहरूले १३ फागुनमा पुनः ज्ञापनपत्र बुझाएका थिए ।उपनगरपालिकाले ठेक्कामार्फत गणेश एन्ड सन्स कन्ट्रक्सन बुटवललाई साइनबोर्डको कर उठाउन अनुमति दिएको छ ।
‘१० महिना पहिले नै साइनबोर्ड करमा असहमति जनाउँदै नलिन ज्ञापनपत्र बुझाएका थियौं, त्यसयता मेयर र उपमेयरसँग २० पटकभन्दा बढी वार्ता र छलफल हुँदा आश्वासन मात्र दिइयो । तर ठेकेदारबाट झन् जबरजस्ती र ज्यादतीका घटना भएपछि बाध्य भएर कर खारेज नगरेसम्म चारवटै संस्थामा आबद्ध व्यवसायीले कर नतिर्ने निर्णय गरेका हौं,’ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने ।
ठेकेदार कम्पनी व्यावसायिक प्रतिष्ठानहरूमा पुगेर जोर जबरजस्ती र अभद्र व्यवहार गर्नुका साथै तोडफोड समेत गरी ज्यादतीपूर्ण व्यवहार गरेकाले तोडफोडको उचित क्षतिपूर्ति दिनुपर्ने आफूहरूको माग रहेको रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले बताए ।