मेलम्चीको मुहान सुरक्षित बनाउन छैन तयारी

Swastika Bhandari

फाल्गुन २०, २०८१काठमाडौँ — काठमाडौं उपत्यकामा खानेपानीका लागि मुख्य स्रोत हो, मेलम्ची खानेपानी आयोजना । तर बर्खामा बाढीबाट मुहान असुरक्षित हुँदा मेलम्ची आयोजनाको पानी आपूर्ति बेलाबेलामा अवरुद्ध हुने गरेको छ । पछिल्लो समय २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रमा क्षति गरेको थियो, जसका कारण काठमाडौं उपत्यकामा नियमित पानी वितरण हुन सकेको छैन ।हरेक बर्खामा मेलम्चीको मुहानमा पानी पथान्तरणका लागि बनाइएको ‘इन्टेक’ (हेडवर्क्स क्षेत्र) बाढीको जोखिममा पर्ने गर्छ । तर बर्खा नजिकिँदै गर्दा मुहान सुरक्षित गर्ने गरी अझै दिगो संरचना निर्माण थालिएको छैन । बाढीले क्षति गर्दा मुहानको अवस्था जस्तो थियो, अहिले पनि उस्तै छ । अहिले जसोतसो खोलो तर्काएको भरमा पानी काठमाडौं ल्याइएको छ । पानी परेर बाढी आए उपत्यकामा आइरहेको खानेपानी ठप्प हुन्छ ।मेलम्चीको मुख्य ऋणदाता एसियाली विकास बैंक (एडीबी) को सहयोगमा परामर्शदाताले गरेको अध्ययनअनुसार मुहानको हेडवर्क्स अहिले भइरहेको स्थानमा उपयुक्त छैन । एडीबीको सिफारिसअनुसार सर्कथलीमा मुहान सारेर इन्टेक नबनाउन्जेल पानी यसरी नै अस्थायी रूपमा वितरण गर्नुको विकल्प छैन । दिगो संरचना नबन्दासम्म वर्षमा ७/८ महिनाभन्दा बढी समय उपत्यकामा पानी आउने छैन । सर्कथली अहिलेको मुहानबाट ८ सय मिटर माथि पर्छ । सुरक्षित ठाउँमा मुहान सार्ने विषयमा प्रगति हुन सकेको छैन ।

मुहानलाई सुरक्षित ठाउँमा सार्ने गरी परामर्शदाता छनोटको प्रक्रिया अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । ‘परामर्शदाता छनोटका लागि बोलपत्र आह्वान गरिसकेका छौं,’ उनले भने । बढीमा ३ महिनाभित्र परामर्शदाता छनोट टुंग्याइने उनको भनाइ छ । परामर्शदाता छनोट भएपछि उसले डिजाइन गर्नेछ । ‘डिजाइनको काम सकिएपछि निर्माणका लागि ठेक्का आह्वान गर्छौं,’ लामिछानेले भने, ‘सबै प्रक्रिया पूरा गरेर निर्माण थाल्न बढीमा एक वर्ष लाग्ने अनुमान छ ।’राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक वर्ष २०५५/५६ मा सुरु भएको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन । मेलम्ची मुहानबाट २६ किमि सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याइएको छ । मेलम्चीबाट पहिलो चरणमा १७ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना थियो । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याउने योजना हो । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि उक्त योजना अझै पूरा हुन सकेको छैन । यांग्री र लार्के खोलाबाट पानी ल्याउने प्रक्रिया नै सुरु भएको छैन ।‘यांग्री र लार्के खोलाको डिजाइन अब छनोट हुने परामर्शदाताबाटै हुन्छ,’ लामिछानेले भने, ‘त्यसपछि निर्माणको प्रक्रिया अघि बढाइनेछ ।’ मेलम्ची खानेपानी विकास समितिको जिम्मेवारी हेडवर्क्स, सुरुङ निर्माण र सुन्दरीजलमा पानी प्रशोधन गर्ने हो । उपत्यकामा पानी ल्याइसकेपछि त्यसलाई आवश्यक संरचना बनाएर वितरण गर्ने काम मेलम्ची उपआयोजना–२ ले गर्छ । त्यसपछिको वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गर्छ ।

मेलम्ची आयोजनामा हालसम्म ६१ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले मेलम्चीबाट दैनिक २२ करोड लिटर पानी आइरहेको छ । १७ करोड लिटर पानी नियमित प्रक्रियामार्फत वितरण भइरहेको र बाँकी पानी नयाँ पाइप परीक्षण र चाडपर्वमा बागमती नदीमा छाड्ने गरिएको छ ।अहिले उपत्यकामा दैनिक २६ करोड लिटर पानी वितरण हुँदै आएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जनाए । ‘मेलम्चीबाट १७ करोड र केयूकेएलको पुरानो स्रोतबाट ९ करोड लिटर पानी आउने गरेको छ,’ उनले भने, ‘त्यसैलाई व्यवस्थापन गरेर वितरण गर्दै आएका छौं ।’ उनका अनुसार उपत्यकामा अहिले दैनिक पानीको माग ४७ करोड लिटर छ । मागअनुसार पानी आपूर्ति गर्न नसकिएको उनले बताए ।

एडीबीको ऋण सहयोगमा विभिन्न ९ ठाउँमा पानी जम्मा गर्ने गरी रिजर्भ ट्यांक बनाइएको छ । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार १० किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको मेलम्ची उपआयोजना–२ का उपनिर्देशक एवं सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठको भनाइ छ । ‘पुरानो प्रणालीमा पानी चुहावट हुने समस्या धेरै थियो,’ उनले भने, ‘त्यसैले नयाँ पाइपलाइन विस्तार गरेर पानी वितरण थालिएको छ ।’

पहिलो चरणमा छुटेका क्षेत्र कलंकी, धुम्बाराही, स्वयम्भू, सामाखुसी, बालुवाटारमा अहिले नेपाल सरकारकै लगानीमा पाइपलाइन विस्तार गरिएको श्रेष्ठले बताए । ‘जुन क्षेत्रको ७ सय ९६ किमिमा पाइप विस्तार सकिसकेको छ,’ उनले भने, ‘अब पानी पठाएर परीक्षण गर्न मात्र बाँकी छ, असार मसान्तसम्म यी सबै काम सक्ने योजनामा छौं ।’ परीक्षण गर्न दैनिक ३ देखि ४ करोड लिटर पानी चाहिने भएकाले त्योअनुसार पानीको उपलब्धता हुनुपर्ने उनको भनाइ छ ।

Sharing Is Caring:

Leave a Comment