फाल्गुन २०, २०८१काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयले पुनः अवरोध गरेका छन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोला दुवैतर्फ सोमबारदेखि सबै काम ठप्प छ । धादिङतर्फ सुरुङको मुख अगाडि रहेको ‘रोड साइड सर्भिस स्टेसन’ नजिकै घर भएका स्थानीयले क्षतिपूर्तिको माग राख्दै काम रोकेका हुन् । स्थानीयले काठमाडौंतर्फ आएर सुरुङ र बलम्बुस्थित किसिपिडीमा निर्माणाधीन फ्लाईओभरको काम ठप्प पारेका छन् ।निर्माणको अन्तिम चरणमा पुगेका बेला काम रोकिँदा समस्या भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । ‘अहिलेको काम गराइअनुसार भदौभित्र सुरुङ सञ्चालनमा ल्याउने तयारी थियो, त्यहीअनुसार कामदार निर्माणस्थलमा परिचालन गरिएको थियो,’ उनले भने, ‘यही बेला काम रोकिएपछि निर्माणको काम कहिले सकिन्छ भन्ने अवस्था रहेन ।’ उनका अनुसार रोडसाइड सर्भिस स्टेसन नजिकै केही घर छन् । गत असोजमा आएको बाढीका कारण स्थानीय कालु तामाङको घरमा क्षति पुगेको थियो ।‘बर्खाका कारण जमिन चिरा परेकाले घरमा बस्न जोखिम थियो,’ पन्थीले भने, ‘रोड साइड सर्भिस स्टेसनबाट पानी बगेर यस्तो भएको र क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।’ त्यस ठाउँमा कसरी समस्या आयो भन्ने सम्बन्धमा सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाको प्राविधिक टोलीले भौगर्भिक अध्ययन गरिसकेको र केही दिनभित्र अध्ययन प्रतिवेदन आउने उनले जनाए ।
‘अध्ययन प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे निर्णय हुन्छ,’ पन्थीले भने, ‘अहिले पनि समस्या समाधान गरेर रोकिएको काम सुरु गर्न लागिपरेका छौं, समस्या छिटो समाधान भए कामले गति लिने थियो ।’ अहिलेसम्म समग्रमा सुरुङ निर्माणको प्रगति ८६ प्रतिशत छ । त्यस्तै फ्लाइओभर निर्माणको काम ९६ प्रतिशत सकिसकेको आयोजनाको दाबी छ ।‘सुरुङभित्र गर्नुपर्ने काम अन्तिम चरणमा छन् । छिटो काम सक्न लागिपरे पनि स्थानीयले बेला–बेलामा काम रोक्ने गरेका छन्, वार्ता, छलफलबाट समस्या समाधानको विकल्प हुँदाहुँदै कामै रोक्नु गलत हो,’ उनले भने, ‘यसरी अवरोध गरिरहँदा नेपालकै पहिलो सवारी गुड्ने सुरुङमार्गको काम सक्न समस्या भइरहेको छ ।’ पटकपटक सुरुङ निर्माणमा स्थानीयले अवरोध गर्दै आएका छन् । तर सरकारको जिम्मेवार निकाय भने यस्ता कुरा देखेर पनि नदेखेझैं गरिरहेको छ । महत्त्वपूर्ण आयोजनाका रूपमा रहे पनि उक्त सुरुङमार्गमा आइपर्ने समस्या तत्काल समाधान गरेर काम गर्ने वातावरण बनाउने कुराबाट सरकारी निकाय भने पछि हट्दै आएको छ ।‘आगामी अप्रिलमा जापानबाट सुरुङभित्र सबै कुराको टेस्टिङ गर्न भन्दै २० जनाको प्राविधिक टोली आउँदै छ,’ पन्थीले भने, ‘विद्युत्को लाइन जोड्न पहल गरेको तीन महिना बढी भइसक्यो, अहिलेसम्म जोड्न सकिएको छैन ।’ धादिङतर्फ सुरुङको मुख अगाडि रहेको पहिरो नियन्त्रणको काम पनि भइरहेको उनले बताए । सुरुको अवस्थामा मुआब्जा, कोभिड–१९ का कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो । पछिल्लो केही वर्षयता भने पटक–पटक स्थानीयको अवरोधका कारण निर्माणको कामले गति लिन सकेको छैन ।
यसको काम ४२ महिनाभित्र सक्ने भन्दै २०७६ कात्तिक ४ मा निर्माण थालिएको हो । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि २०८१ वैशाख १३ सम्म म्याद थपियो तर काम सकिएन । उक्त समयभित्र पनि काम नसकिँदा २०८२ असोजसम्म म्याद थपिएको छ ।अहिले सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्ने खोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाले जनाएको छ । आपत्कालीन र मुख्य सुरुङ छुट्टाछुट्टै निर्माण गरिएको छ । आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर र मुख्य सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् ।
अहिले नागढुंगा सडक खण्ड भएर दैनिक १० हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।