फाल्गुन २०, २०८१काभ्रे — भुम्लु गाउँपालिका–८ स्थित डुम्रेमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले जडीबुटी प्रशोधन केन्द्रको संरचना तयार गरी प्रशोधनको नमुना अभ्यास सुरु गरेको हो । जडीबुटी प्रशोधन गरेर औषधीय सामग्री उत्पादन गर्ने, पालिकालाई जडीबुटी उत्पादनको हब बनाउने र किसानलाई जडीबुटी उत्पादनमा जोड्न प्रशोधन केन्द्र स्थापना गरिएको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलले बताए ।औषधीय गुणले भरिपूर्ण तीतेपातीलाई प्रशोधन गरेर तेल निकालिएको छ । ‘यसलाई हामीले परीक्षणका रूपमा लिएका छौं,’ भुजेलले भने, ‘अहिले १ लिटर तेल निकालिएको थियो, यस विषयसँग जानकार व्यक्तिहरूसँग गरिएको छलफलमा यो निकै प्रभावकारी हुने प्रतिक्रिया पायौं ।’ तीतेपाती प्रशोधनको क्रममा प्रयोग हुने पानी स्टिम वाटरलाई औषधिका रूपमा प्रयोग गर्न सकिने र प्रशोधन गरेर त्यसबाट निक्ने छोक्रा प्रांगारिक मलको रूपमा प्रयोग गर्न सकिने उनले बताए ।‘तीतेपातीको तेलको बजार पनि राम्रो देखिएकाले यसलाई प्राथमिकतामा राख्ने योजना बनाएका छौं,’ भुजेलले भने, ‘बजारमा अहिले तीतेपातीको तेलको मूल्य ८ देखि १० हजार रुपैयाँसम्म पर्ने बुझिएको छ, यसको स्टिम वाटरको मूल्य प्रतिलिटर ४० देखि ५० रुपैयाँ पर्छ ।’ बृहत् रूपमा तीतेपाती उत्पादन गर्न किसानलाई बिरुवा प्रदान गर्ने तयारी पनि भइरहेको छ । जडीबुटी प्रशोधन केन्द्रमा तीतेपाती, तुलसी, लेमन ग्रास, धसिंगरेको अभ्यास गरिसकिएको उनले जनाए । जडीबुटीलाई सस्टेन बनाउन ४० रोपनी क्षेत्रफलमा तीतेपाती, तेजपत्ता, रोजमेरी खेती भइरहेको छ । पालिकालाई जडीबुटी उत्पादनको हब बनाउन प्रशोधन केन्द्रसँगै ग्रिन हाउस तयार गरिएको छ, जहाँ जडीबुटीका बिरुवा उत्पादन गरिने गाउँपालिकाका अध्यक्ष भुजेलले जनाए । गाउँपालिका क्षेत्रभित्र रहेका धेरैजसो बाँझो जमिन सदुपयोग गरेर जडीबुटी उत्पादन समूह निर्माण गरेर जडीबुटी लगाउने तयारी भइरहेको छ । एकातिर सामुदायिक वन जंगलको संरक्षण, अर्को आम्दानीको स्रोत पनि हुने भएकाले यस कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए ।
संकलन गरेर ल्याइएको जडीबुटी सुकाउन पालिकाले ड्रायर हाउस पनि तयार गरेको छ । ‘संरचना तयार भइसकेको छ,’ भुजेलले भने, ‘यसलाई सदुपयोग गर्न पालिकाले अहिले साग सुकाएर गुन्द्रुक उत्पादन गर्ने तयारी गरिरहेको छ, यसका लागि किसानसँग पालिका साग किन्दै छ, आफूले उत्पादन गरेको साग बिक्रीका लागि पालिकामा सम्पर्क गर्न किसानलाई भनिरहेका छौं ।’पालिकाले प्रशोधन केन्द्रलाई आम्दानीको स्रोतसँग पनि जोडेको भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताए । जडीबुटी प्रशोधन केन्द्र विधिवत् रूपमा सञ्चालनमा आएपछि स्थानीयले केन्द्रमा रोजगारीको अवसर पनि पाउनेछन् । यस कार्यक्रमलाई किसानसँग जोडेर उनीहरूको आयस्तर पनि वृद्धि गर्ने पनि लक्ष्य राखिएको तामाङले जनाए । पालिकाले सञ्चालनमा ल्याउन लागेको जडीबुटी प्रशोधन केन्द्रले किसानलाई लाभ मिल्ने भुम्लु ८ स्थित डुम्रेकी स्थानीय ४५ वर्षीया रीता शिवभक्तिले बताइन् ।आफ्नै गाउँमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने भएपछि गाउँमै रोजगारी पाइनेमा उनी विश्वस्त छिन् । यस केन्द्रले किसानसँग जोडेर कार्यक्रम राखे किसानहरूलाई धेरै लाभान्वित हुने स्थानीय शंकररमण उप्रेतीको भनाइ छ । उनका अनुसार, उद्देश्य र लक्ष्यअनुरूप नै पालिकाले यस जडीबुटी प्रशोधन केन्द्रलाई सञ्चालन गर्न सके मात्रै राम्रो हुन्छ ।