अब १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने

Swastika Bhandari

२० फागुन, काठमाडौं । अब बजारमा कारोबार हुने सेयरको अन्तिम मूल्य भारित औसतमा आधारित हुने भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो कम्पनीको सेयरको अन्तिम मूल्य तय हुनेगरी नेप्सेले प्राविधिक तयारी गरिरहेको छ ।

हालसम्म बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको छ ।नेपाल स्टक एक्स्चेन्जले नयाँ व्यवस्था कार्यान्वयन गर्नेगरी धितोपत्र बोर्डबाट नीतिगत व्यवस्थाका लागि स्वीकृत पाएको छ । नेप्सेले केही साताभित्रै यो कार्यान्वयनमा ल्याउनेगरी प्राविधिक तयारी थालेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

केही खेलाडीहरुले सेयर मूल्य बढाउन तथा घटाउनका लागि अन्तिम एक मिनेटमै चलखेल गर्ने गरेको आरोपपछि नेप्सेले यस्तो व्यवस्था लागू गर्न थालेको हो । खासगरी लोक्याप कम्पनीमा अन्तिम एक मिनेटमै खेलाडीहरुले मूल्य उच्च दरमा बढाउन वा घटाउन सक्ने सामर्थ्य राख्दै आएका छन् ।यसले गर्दा दिनभर १० प्रतिशत घटेको वा बढेको कम्पनीको सेयर मूल्य अन्तिम एक मिनेटमै विपरित १० प्रतिशतको सीमामा पुग्ने गरेको छ । अन्तिम मूल्य जुन तय हुन्छ, भोलिपल्टबाट सोही मूल्यमा २ प्रतिशतको सीमाभित्र रहेर पहिलो कारोबार हुने गर्छ ।

यहीं चलखेल रोक्नका लागि अब अन्तिम १५ मिनेटको अर्थात् २ : ४५ देखि ३ : ०० बजेसम्मको भारित औसत कारोबार मूल्य नै सो कम्पनीको अन्तिम सेयर मूल्य तय हुनेगरी व्यवस्था गर्न लागिएको हो ।

Sharing Is Caring:

Leave a Comment