फाल्गुन १८, २०८१पोखरा — नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताले पत्रकार यज्ञ बञ्जाडेसँगको संवादमा नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको बताएका हुन् ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकको अवस्था बजारमा सुनिएजस्तो गम्भीर नरहेको बताए । ‘बैंकको अवस्था सिटामोलसम्म दिन परेको अवस्था हो । त्यहाँभन्दा माथि जान परेको छैन,’ उनले थपे, ‘हाम्रो बैंकिङ बलियो छ । किन भन्दा केन्द्रीय बैंकको मनिटरिङ र बैंकभित्र जुन किसिमको बलियो पोलिसी, रणनीति र आवश्यकताअनुसारको विकास छ त्यो गरिराखेका हुन्छौं ।’पछिल्ला महिनामा ब्याजदर घटेकाले व्यवसायीलाई सहज भएको उनले दाबी गरे । तर लगानी गर्ने वातावरण नदेखेर ऋण लिन नआएको हुन सक्ने शेरचनले बताए । बैंकले ऋणी खोजिरहने भएकाले प्रस्ताव लिएर गएमा त्यसमा लगानी गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा राख्दा भने बैंक र व्यवसायीलाई असर गर्ने सम्भावना रहेको उनले औंल्याए ।
‘हामीले आयात–निर्यात गर्ने क्रममा विभिन्न देशका बैंक, व्यावसायिक घरानासँग कारोबार गर्छौं । हेर्ने नजर फरक हुन सक्छ,’ शेरचनले भने, ‘त्यसबापत थप शुल्क लगाउन सक्ने सम्भावना छ । कतिपय देशले हामीलाई पन्छाउने सम्भावना छ ।’ नेपालले ग्रे लिस्टमा पर्दा पर्ने असर हेरेर त्यसलाई समाधान गर्न अहिल्यै लाग्नुपर्ने उनले बताए ।कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लगानीयोग्य पैसा थुप्रनु र खराब कर्जा बढ्नु बैंकिङ क्षेत्रका लागि चुनौती रहेको धारणा राखे । नीति नियम वा रणनीति बनाएर सदुपयोग गर्न सके लगानीयोग्य पैसा थुप्रिएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘लगानीयोग्य ८ सय अर्ब रुपैयाँ बैंकसँग छ । यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने चुनौती छ,’ उनले भने । खराब कर्जा ५ प्रतिशतभन्दा बढी नरहेकाले बैंकिङ क्षेत्र धराशायी नभएको उनले जिकिर गरे । तर, खराब कर्जा बर्सेनि बढ्दै गएकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।अर्थतन्त्र कोभिडको समयमा शिथिल भए पनि अहिले सुधार भइसकेको उनको दाबी छ । ‘गतवर्ष र यो वर्षको ६ महिनामा सबै सूचक सकारात्मक छन्,’ उनले भने, ‘हिजो १४ प्रतिशत ब्याजदर थियो । करिब ७/८ प्रतिशत घटिसक्यो भनेपछि सकारात्मकतर्फ अघि बढेको छ ।’ अर्थतन्त्र र बैंक अन्तरसम्बन्धित हुने भएकाले एउटा बिग्रँदा अर्को पनि समस्यामा पर्ने उनको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कर्जा प्रवाह बढाउन लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए । ‘उत्पादन भइसकेपछि त्यसलाई बजारसम्म लैजान सक्ने संयन्त्रको विकास भएको छैन । किसानले उत्पादन गर्नुपर्ने, किसानले नै बिक्री गर्नुपर्ने अनि घाटा पनि व्यहोर्नुपर्ने भएको छ,’ उनले भने, ‘राज्यबाट प्रत्याभूतिको वातावरण गर्न सक्यौं कि सकेनौं भन्ने कुरा पनि छ ।’ कर्जा लिएपछि तिर्नु पर्दैन भन्ने भाष्य बनाउने र बैंक कर्मचारीलाई अभद्र व्यवहार गर्नु अर्थतन्त्रका लागि राम्रो नभएको उनको भनाइ थियो ।व्यावसायिक क्षेत्रमा लगानी नहुनुको एउटा कारण खुला सिमाना पनि रहेको पौडेलले औंल्याए । ‘खुला सीमा छ । आयात निर्बाध गर्न सक्छौं । छिमेकी देशमा अनुदान दिएर किसान र उत्पादन क्षेत्रबाट न्यून लागतमा उत्पादित वस्तु बजार आउँछ,’ उनले थपे, ‘यहाँ चर्को मूल्यमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न सके कि सकेनन् भन्ने लेखाजोखा गर्न आवश्यक छ ।’ अर्थतन्त्रका सबै पक्ष मिले मात्र उत्पादन, वितरण र बजारीकरण, आयात, निर्यातलाई व्यवस्थित गर्न सकिने उनले बताए ।
सत्रमा सहभागी गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले वित्तीय सेवा अपांगमैत्री हुन नसकेको गुनासो गरिन् । अपांगता भएकाले मोबाइल बैंकिङको प्रयोग गर्न नपाएको उनले बताइन् । कार्यकारी निर्देशक पौडेलले वित्तीय सेवा प्रविधिमैत्री हुने क्रममा रहेको जवाफ दिए । आफूहरूले देशभर रहेका ५ हजार १ सय एटीएम मेसिन र बैंकिङ सेवा अपांगमैत्री बनाउन परिपत्र गरेको उनले जानकारी दिए ।
पोखराका पर्यटन व्यवसायी बबरजंग गुरुङले बैंकले करोडका योजनामा मात्र लगानी गर्ने गरेको तर साना र मझौला व्यवसायीलाई चासो नदिने गुनासो गरे । जवाफमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले साना व्यवसायीलाई हेपिएको भन्ने सत्य नभएको दाबी गरे । कृषि विकास बैंकबाट डेढ लाखभन्दा बढीले कृषि तथा महिला उद्यमशील कर्जा लिएको उनले सुनाए ।