१८ फागुन, काठमाडौं । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आइपुगेका छन् ।
चोभार सुक्खा बन्दरगाहमा हालसम्म दक्षिणी नाका (वीरगञ्ज) बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारीसाधन भन्सार जाँच पासका लागि आउने गरेकामा १५ फागुनदेखि तातोपानी नाकाबाट समेत चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि मालवाहक सवारीसाधन आउन सुरु गरेका हुन् ।१५ फागुनमा कोभेक–क्रिग–कालिका ज्वाइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका चार वटा कन्टेनर पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो ।
अर्थ मन्त्रालयले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताका लागि सडक मार्ग तोकेको थियो ।यसअघि दक्षिणी नाकाहरू वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सामान ल्याउन पाउने व्यवस्था थियो ।
तातोपानी नाकाबाट समेत भन्सार जाँचपासका लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालनमा ल्याउन थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्क लगायत स्तरीय सेवा प्राप्त हुने भएकाले आगामी दिनमा आयात निर्यातकर्ताले नियमित मालवाहक सवारीसाधन चोभार आउने जानकारी कार्यकारी निर्देशकले गजुरेलले दिए ।
यस्तै उनले आगामी दिनमा रसुवा नाकाबाट पनि भन्सार जाँचपास गर्न सवारीसाधन तथा कन्टेनर आउने वातावरण बनेको बताए । काठमाडौंमा आयात हुने सामान र काठमाडौ वरिपरिबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरूलाई कार्यकारी निर्देशक गजुरेलले आग्रह गरे ।