फाल्गुन १७, २०८१ताप्लेजुङ — दिनानुदिन माग बढिरहँदा उत्पादनमा भएको कमीका कारण अघिल्लो वर्षको जति अलैंची निर्यात हुन सकेको छैन । तर नगद भने बढी भित्रिएको छ । नेपालमा उत्पादित ९८ प्रतिशत अलैंची भारत निर्यात हुने गरेको छ ।यतिबेला अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएको व्यवसायी बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (२०८१/८२) को सात महिनामा पाँच अर्ब ३९ करोड ७६ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको अलैंची निर्यात भएको छ । भन्सार विभागले ३० लाख २८ हजार ४ सय ९५ किलोग्राम अलैंची निर्यात भएको जनाएको छ ।अघिल्लो आर्थिक वर्षको यो अवधिमा भने चार अर्ब ४४ करोड ३५ लाख २६ हजार मूल्य बरावरको ३१ लाख ८३ हजार ५ सय ६० किलो अलैंची निर्यात भएको थियो । मूल्य वृद्धिका कारण गत वर्षको तुलनामा यसवर्ष कम परिमाण निर्यातमा झण्डै एक अर्ब रुपैयाँ बढी भित्रिएको तथ्यांकमा उल्लेख छ ।
अलैंची जोन ताप्लेजुङका अध्यक्ष बालमणि बराल यसवर्ष विगत १० वर्ष यताकै राम्रो मूल्य आएको बताउँछन् । तर २०७२/७३ सालको रेकर्ड भने तोड्न नसकेको उनले बताए । यस वर्ष प्रति मन (४० किलोको एक मन हुन्छ) को मूल्य एक लाख ९ हजार सम्म किसानले गाउँमै पाएका छन् ।तेह्रथुमका अलैंची व्यवसायी खेम संग्रौला सग्रान्ती बजारमा १ लाख १२ हजार रुपैयाँसम्म चलनचल्तीको मूल्य पुगेको बताउँछन् । ‘पहिला जस्तो उत्पादन नभए पनि यसवर्ष किसानको चाहना र माग अनुसारकै मूल्य आएको थियो,’ संर्ग्रौलाले भने । गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशत नै उत्पादनमा कमी रहेको बराल बताउँछन् ।हरेक वर्षको मूल्य फरक हुन्छ, कहिले हृवात्तै घट्छ कहिले हृवात्तै बड्छ,’ उनले भने, ‘रोग किरा, खडेरीको मारपनि त्यत्तिकै छ त्यसैले उत्पादन घटिरहेको छ ।’ बोटमा लागेको रोगले गानो कुहिने, पात कुहिने जस्ता समस्या हरेकवर्ष देखिने गरेको फक्ताङलुङ गाउँपालिका ४ इखावुका रनध्वज लिम्बूको भनाइ छ ।
नेपालमा वार्षिक ७ हजार ट्रनको हाराहारीमा उत्पादन हुने गरेको तथ्यांक कृषि मन्त्रालयको तथ्यांक शाखाको छ । नेपाल अलैंची व्यवसायी महासंघले भने यो वर्ष पाँच हजार मेट्रिक टनको हाराहारीमा भएको बताएको छ । मन्त्रालयका अनुसार देशका ४३ जिल्लामा अलैंची खेती हुने गरेको छ ।ताप्लेजुङमा नेपालमै सबैभन्दा वढी अलैंची उत्पादन हुने दावी अलैंची जोनको छ । २८ सय किलोसम्म उत्पादन हुने बरालले बताए ।