सिस्नेरी सडक पुनर्निर्माणलाई ठेक्का आह्वान

Swastika Bhandari

फाल्गुन १७, २०८१

हेटौंडा — गत असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिम खोलाको पुल र सिस्नेरी सडक पुनर्निर्माण बर्खा अगाडि नै हुने भएको छ । आयोजनाको ड्याममुनिको सिम खोलामा बेलिब्रिज हालिने भएको छ । यसका लागि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सोमबार ठेक्का आह्वान गरेको छ ।बेलिब्रिज राख्न र पहुँच मार्ग निर्माणका लागि १ करोड ७९ लाख लागत अनुमानसहित ठेक्का निकालिएको हो । सिम खोलामा भीमफेदी गाउँपालिका–६ स्थित मान्डु खोलामा रहेको बेलिब्रिज निकालेर हाल्ने निर्देशनालयका प्रवक्ता चन्द्रदेव भट्टले बताए । मान्डु खोलामा पक्की पुल निर्माण गरेर सञ्चालनमा आएकाले त्यहाँको बेलिब्रिज प्रयोगविहीन छ ।भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा बाढीले इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिम खोलाको पुलसँगै सडक क्षतिग्रस्त बनाएको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर हेटौंडा—काठमाडौं आउजाउ गर्ने सवारीसाधन सवारी सञ्चालन गरिएको छ । इन्द्रसरोवर–२ का वडाध्यक्ष सुमन श्रेष्ठले तत्कालका लागि बेलिब्रिज हालेर सवारी आउजाउमा सहज गरिए पनि दीर्घकालीन समस्या समाधानका लागि पक्की पुल आवश्यक रहेको औंल्याए ।

‘कुलेखानीको ड्यामबाट हुन सक्ने सम्भावित क्षतिलाई समेत मध्यनजर गरी अब पक्की पुल निर्माण गर्नुपर्छ,’ उनले भने । कुलेखानीकै बाढीले क्षतिग्रस्त वनाएको सिस्नेरीको सडक पनि वर्षायामअघि नै पुनर्निर्माण हुने भएको छ । कुलेखानी—सिस्नेरी खण्डको १२ सय मिटर सडक पुनर्निर्माणका लागि बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौंडाले २ खण्डको ठेक्का आह्वान गरेको आयोजना प्रमुख देवनारायण गौतमले बताए ।इन्द्रसरोवर—३ एकान्तकुना लामाबगरमा ७ सय मिटर र इन्द्रसरोवर—२ डोडारेमा ५ सय मिटर सडक पुनर्निर्माण गर्न आयोजनाले साढे ७ करोड रुपैयाँभन्दा बढी लागत अनुमानसहित ठेक्का सार्वजनिक गरेको छ । सडकको पुनर्निर्माण कार्यको अवधि असार मसान्तसम्म छ ।हेटौंडा—कुलेखानी—सिस्नेरी हुँदै दक्षिणकाली भएर राजधानी आवतजावत गर्ने सवारीसाधन अहिले सिस्नेरी खोलाको बगरबाट आउजाउ गर्छन् । ‘एकान्तकुना–लामाबगर र डोडारेमा सडकको नामोनिसान नै छैन । सडक नै बगरमा परिणत भएको छ,’ गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए । असोजको दोस्रो सातामा आएको बाढीले सिस्नेरी बजारका ४० घर नै बगाएको थियो ।

Sharing Is Caring:

Leave a Comment