बाढीले क्षतिग्रस्त पुल बनाउन २ अर्ब स्रोत सहमति

Swastika Bhandari

फाल्गुन १७, २०८१

काठमाडौँ — गत असोजमा आएको बाढीले क्षति पुर्‍याएका पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले करिब २ अर्ब बराबरको स्रोत सहमति दिएको छ । बाढीले विभिन्न जिल्ला जोड्ने पक्की पुल बगाएकाले स्थायी रूपमै निर्माण गर्न १ अर्ब ९० करोड १० लाख रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो । स्रोत सहमति पाएसँगै पुलहरूको खरिद गुरुयोजना माग गरिएको सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख ललिजन खनालले बताए । ‘बर्खाअघि खरिद ऐन, नियमावलीअनुसार गर्नुपर्ने ठेक्काका सबै प्रक्रिया सक्छौं,’ उनले भने, ‘त्यसपछि लगत्तै निर्माण थाल्छौं ।’स्थायी रूपमा पुल निर्माण नभएसम्म बेलिब्रिज राखिने खनालले बताए । ‘बेलिब्रिज राखिसकिएको भए पनि पुरानो दायित्व बाँकी नै छ,’ उनले भने, ‘त्यहीअनुसार स्रोत सहमति मागेका हौं ।’

पुल महाशाखाका अनुसार चालु आर्थिक वर्षका लागि मात्र २६ करोड २१ लाख रुपैयाँ माग गरिएको छ । सडक विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सुनकोशी नदीको फोक्सिङटारमा स्थायी रूपमा पुल निर्माणका लागि ३५ करोड र बेलिब्रिजका लागि २ करोड रुपैयाँ स्रोत माग गरिएको हो । त्यस्तै सिन्धुपाल्चोकको लार्चा, लिपिङ पुल निर्माणका लागि क्रमशः २५ र १० करोड रुपैयाँ स्रोत सहमति उपलब्ध भएको छ । हेवाखोलामा बेलिब्रिजका लागि ५ र स्थायी रूपमा निर्माणका लागि २५ करोड रुपैयाँ स्रोत सहमति माग गरिएको हो ।त्यस्तै कान्ति राजमार्गअन्तर्गत ललितपुर र मकवानपुर जोड्ने बगुवा खोलामा स्थायी रूपमा पुल निर्माणका लागि १८ करोड र बेलिब्रिजका लागि ६ करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ । केही पुलको बेलिब्रिज बर्खामा निकालिने र केहीको मात्र राखिराखिने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।

‘फोक्सिङटार र बगुवामा जडान गरिएको बेलिब्रिज बर्खामा निकाल्छौं,’ उनले भने, ‘अन्य ठाउँका भने चालु रहनेछन् ।’ उनका अनुसार लम्बाइ छोटो भएका बेलिब्रिज बर्खामा निकालिएपछि बर्खा सकिएलगत्तै जडान गरिनेछ ।‘केही पुलको डिजाइन एन्ड बिल्डअनुसार ठेक्काको प्रक्रिया अघि बढाउनुपर्ने छ, यो भनेको पुलको डिजाइनदेखि निर्माणसम्म ठेक्का लिने कम्पनीले नै गर्छ,’ उनले भने, ‘पुलमा डिजाइन एन्ड बिल्डसम्बन्धी निर्देशिका तयार पारेर मन्त्रिपरिषद्मा पठाएका छौं, मूल्य समायोजनका कुरा पनि उल्लेख छन्, निर्देशिका स्वीकृत नहुँदासम्म त्योअनुसार गरिने ठेक्का प्रक्रिया अघि बढाउँदैनौं ।’

उनले बर्खाअघि पुल निर्माण सुरु नहुने भएकाले पनि हतार नगरी खरिद प्रक्रियाका काम मात्र टुंग्याएर बस्ने बताए । ‘बर्खामा पुल निर्माणको काम हुँदैन,’ उनले भने, ‘त्यसैले बर्खाअघि ठेक्काका सबै प्रक्रिया टुंग्याउँछौं, बर्खापछि निर्माण थाल्न समस्या हुने छैन ।’

असोजको बाढीले सडक पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ । पुल र सडकका लागि अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड २० लाख रुपैयाँको स्रोत सहमति दिइसकेको छ । त्यहीअनुसार फागुन मसान्तभित्र सबै सडकको ठेक्का व्यवस्थापन सक्ने दाबी सडक विभागको छ ।

त्यसका लागि सबै सडकको खरिद गुरुयोजना मागिएको विभागले जनायो । केही सडक कार्यालयले भने गुरुयोजना पठाइसकेका र केहीको आउने क्रममै रहेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्यालले बताए ।

‘आन्तरिक रूपमा सबै सडक आयोजनालाई एक साताभित्र खरिद गुरुयोजना पठाउन भनेका हौं,’ उनले भने, ‘त्यसपछि फागुन मसान्तभित्र सबै सडकको ठेक्का व्यवस्थापन गरिसक्छौं ।’ ठेक्काका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ । बर्खाले सबैभन्दा बढी क्षति बीपी राजमार्गमा भएको छ । बीपी राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरी ठेक्का गरिनेछ । चालु आर्थिक वर्षमा सडक र पुलका लागि १ अर्ब ८८ करोड रकम चाहिनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० राजमार्ग, १३ पुल र ३ सडकको स्थायी निर्माण र मर्मतसम्भारका लागि भन्दै रकम मागेको थियो । राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ माग गरिएको थियो । सबैभन्दा बढी बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड रुपैयाँ मागिएको हो ।

Sharing Is Caring:

Leave a Comment