झण्डै दोब्बरले बढ्यो वीरगञ्ज नाका हुँदै निर्यात

Swastika Bhandari

फाल्गुन १५, २०८१पर्सा — चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वीरगञ्ज भन्सार नाका हुँदै ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन्।गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आर्थिक वर्षको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।मुलुकभर रहेका साना/ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए ।

‘गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको छ,’ उनले भने । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ ।त्यस्तै सोही अवधिमा चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ । तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।एक अर्ब ६० करोड मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।

Sharing Is Caring:

Leave a Comment