फाल्गुन १४, २०८१काठमाडौँ — वाणिज्य बैंकहरूले आयात लागत बढाउँदा पहेंलो धातुका रूपमा चिनिएको सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबारको तुलनामा मंगलबार मूल्य सामान्य घटेको छ । तर बैंकले प्रिमियम चार्ज बढाउँदा र विनिमय दरका कारण स्थानीय बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ २९४१.८० अमेरिकी डलर थियो । मंगलबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २९३९.८० डलरमा कारोबार भएको थियो । तर पनि स्थानीय बजारमा सुनको भाउले नयाँ रेकर्ड बनायो ।
‘अन्तर्राष्ट्रिय बजार हेर्दा सोमबारकै मूल्य कायम हुनुपर्ने थियो । तर वाणिज्य बैंकहरूले आयात प्रिमियम चार्ज बढाएका छन् । सोमबारकै तुलनामा मंगलबार विनिमय दर पनि बढेको छ,’ सुनचाँदीविज्ञ तेजरत्न शाक्यले भने, ‘वाणिज्य बैंकले सोमबारको रेटमा सुन दिएनन्, त्यही भएर सामान्य बढ्यो ।’महासंघले ‘सुन बिक्रीवितरण कार्यविधि/निर्देशिका २०६८’ अनुसार मूल्य निर्धारण हुने गरेको जनाएको छ । कार्यविधिअनुसार आयातकर्ता (बैंकहरू) ले ०.५ र व्यवसायीले ०.५ प्रतिशत (बैंक र व्यवसायी गरी १ प्रतिशत) मुनाफा लिन पाउँछन् । त्यसपछि मूल्यमा प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) का रूपमा करिब ०.५ प्रतिशत जोडिन्छ ।अन्तर्राष्ट्रिय बजारको मूल्य र विनियम दरका आधारमा पनि मूल्य निर्धारण गरिन्छ । ‘प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) मा ०.५ प्रतिशत दिइन्थ्यो । खर्च घटेपछि प्रिमियम चार्ज पनि घटेर ०.३ प्रतिशत पुगेको थियो । ‘चार्ज अझै घट्नुपर्ने कुरा भइराख्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन आएपछि खर्च फेरि बढ्यो । नयाँ सुन आएपछि बैंकले प्रिमियम चार्ज थप ०.१० बढाए,’ शाक्यले भने, ‘त्यही कारण पनि मूल्य बढ्यो । डलरको भाउ पनि बढ्यो ।’
यीबाहेक सुन आयातमा सरकारले १० प्रतिशत भन्सार लगाएको छ । चालु आर्थिक वर्षको बजेट भाषणमा भन्सार दर ५ प्रतिशत बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार दर बढेपछि तस्करी मौलाएकाले सरकारले गत मंसिरमा फेरि भन्सार घटाएर भारतकै सरह बनाएको थियो । भन्सार दर ५० प्रतिशत घटाएसँगै एकैदिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ सस्तो भएको थियो । त्यसपछि फेरि मूल्य बढ्न थालेको हो ।सुनको मूल्य निर्धारण गर्दा न्युयोर्कको बजारलाई आधार मानिन्छ । भारतीय बजारलाई पनि आधार मानिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण हुने गरेको व्यवसायी बताउँछन् । डलरको तुलनामा भारतीय पैसा कमजोर बन्दै गएको छ । यसले सुनको भाउ बढ्न थप सघाएको छ । सोमबार १ डलर बराबर १ सय ३८.९५ रुपैयाँ थियो । मंगलबार विनिमय दर बढेर १ डलर बराबर १३९.३० रुपैयाँ पुगेको छ ।
यही कारण पनि सुनको भाउ बढेको महासंघले जनाएको छ । महासंघले मंगलबार तोकेको मूल्य अहिलेसम्मकै उच्च हो । महासंघकै तथ्यांकअनुसार साढे २ महिनामा एक तोलामै २२ हजार ८ सय बढेको छ । पुस ५ मा प्रतितोला सुनको भाउ १ लाख ४८ हजार ५ सय थियो । त्यसपछि कात्तिक १५ मा नयाँ रेकर्ड बनाउँदै प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि मूल्य घटबढ हुँदै फागुन ४ मा प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । फागुन १३ मा मूल्यले फेरि नयाँ रेकर्ड बनाउँदै १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको हो ।
महासंघले १ लाख ७१ हजार ३ सय रुपैयाँ निर्धारण गर्दा सर्वसाधारणले एक तोला गहना किन्दा झन्डै २ लाख रुपैयाँ तिर्नुपरेको छ । सर्वसाधारणले सुन खरिद गर्दा व्यवसायीले थप १२ देखि १८ प्रतिशत जोडेर बेच्छन् । ज्याला र जर्तीको १५ प्रतिशत जोड्दा उपभोक्ता मूल्य १ लाख ९७ हजार रुपैयाँ पुग्छ ।
अहिले कोटा प्रणालीअनुसार सुन आयात गरिन्छ । सुन वाणिज्य बैंकले मात्रै आयात गर्न पाउँछन् । आयातित सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ, हस्तकला महासंघ र नेपाल कला व्यवसायी संघको सिफारिसमा मात्रै गहना व्यवसायीले खरिद गर्न पाउँछन् । कोटा र सिफारिस प्रचलनले संघमा कमाउ धन्दा फस्टाएको र विकृति बढेको भन्दै व्यवसायीले अब बिक्रीका आधारमा सुन आयात खुलाउन माग गर्दै आएका छन् ।