सेयर बजारमा उचालिए दुई पुनर्बीमा कम्पनी, अन्य सेक्टरमा रेकर्ड

Swastika Bhandari

१४ फागुन, काठमाडौं । मंगलबार सबैभन्दा धेरै रकमको कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः पहिलो र दोस्रो स्थानमा रहे ।

कारोबार संख्याका आधारमा पनि यिनै दुई कम्पनी सबैभन्दा अगाडि थिए । सो दिन नेपाल पुनर्बीमाको मूल्य ६.२८ प्रतिशत बढ्दा हिमालयन रिको ३.५४ प्रतिशत बढ्यो ।आज मात्रै नभई विगत केही दिनदेखि नै यी दुई कम्पनी कारोबारका आधारमा सबैभन्दा अगाडि रहँदै आएका छन् भने मूल्य पनि लगातार बढिरहेको छ । दुई सातामै हिमालयन रिको मूल्य २१ प्रतिशत बढेको छ भने नेपाल पुनर्बीमाको ३३ प्रतिशत बढिसकेको छ ।

यी दुई कम्पनीको मूल्यवृद्धिकै कारण अन्य सेक्टर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो सेक्टर २४४७ अंकमा पुगेको छ । बजार बन्द हुँदाको यो अंक हालसम्मकै उच्च हो ।पछिल्लो समय दुई पुनर्बीमा कम्पनीको मूल्य यसरी बढ्नुको प्रमुख कारण चुक्ता पूँजी वृद्धि हो । दुवै पुनर्बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी २०–२० अर्ब रुपैयाँ पुर्‍याउनेगरी बीमा प्राधिकरणमा योजना बुझाएका छन् ।

बोनस सेयर र हकप्रद सेयरबाट चुक्ता पूँजी पुर्‍याउनेगरी दुवै कम्पनीले योजना पठाएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताए । उत्कृष्ट बोनस सेयर र हकप्रद पनि आउने भएकाले यतिबेला यिनै दुई कम्पनीमा लगानीकर्ता र कारोबारी दुवै आकर्षित भएका छन् ।

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । यो कम्पनीले हकप्रद र बोनस सेयरमार्फत करिब ६ अर्ब ५८ करोड रुपैयाँ थप्नुपर्ने छ ।

त्यस्तै हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ छ । यो कम्पनीले पनि हकप्रद र बोनस सेयरमार्फत करिब ९ अर्ब ६० करोड थप्नुपर्ने छ ।

नेपालको बजारमा हकप्रद र बोनस सेयरका पछाडि लगानीकर्ता दौडिने गरेका छन् । हकप्रद र बोनस सेयर घोषणा हुँदा यी कम्पनीको सेयर सहज रुपमा बिक्री पनि गर्न सकिने उद्देश्यले ठूला लगानीकर्ताले कम्पनीको सेयर होल्ड गरेका छन् । त्यस्तै अन्य लगानीकर्ता पनि हकप्रद र बोनस आउने भएकाले कम्पनीका सेयरमा आकर्षित छन् ।

यी कम्पनीबाट राम्रो नाफा कमाइसकेकाले कारोबारी पनि यिनै दुई कम्पनीमा सक्रिय छन् । जसले गर्दा कुल कारोबारमा यी दुई कम्पनीको हिस्सा बढी हुने गरेको छ ।

Sharing Is Caring:

Leave a Comment