कोदो खेतीलाई प्रोत्साहन गर्न पालिकाद्वारा खेती अनुदान र उत्पादन अनुदान

Swastika Bhandari

फाल्गुन १०, २०८१

हेटौंडा — मकवानपुरका दुई गाउँपालिकाले रैथाने बाली कोदो खेतीलाई उत्पादनमा अनुदान र खेती प्रोत्सााहन अनुदान दिएकाले कोदो खेतीको विस्तार हुँदै गएको छ ।

भीमफेदी गाउँपालिकाले चालु आवमा ४ सय २४ जना कोदो खेती गर्ने कृषकहरुलाई ३२ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । २ रोपनी भन्दाबढी कोदो खेती गर्ने कृषकहरुलाई भीमफेदी गाउँपालिकाले प्रतिरोपनी १ हजार ८ सय रुपैयाँ कोदो खेती अनुदान दिने गरेको भीमफेदी गाउँपालिका कृषि शाखा प्रमुख केशव रिजालले बताए ।‘मापदण्ड र आवश्यक कागजजात पुर्‍याएका कृषकहरुलाई उक्त अनुदान रकम उपलब्ध गराएका छौं,’ उनले भने । भीमफेदी गाउँपालिकामा ५ हजार १३ रोपनी जमिनमा कोदो खेती गरिएकोमा ५ सय ९ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ ।

कोदो खेती गर्नका लागि गाउँपालिकाले खेती प्रोत्साहन अनुदान उपलब्ध गराउन थालेपछि कोदो खेती गर्ने कृषकहरुको संख्या बर्सेनि बढ्दै गएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । उनले भने, ‘अहिले कोदोको बजार पनि छ, उत्पादित कोदो बिक्री भएन भने गाउँपालिकाले बजारको व्यवस्था पनि गर्ने योजना बनाउँदै छ ।’

गाउँपालिकाले कोदो खेती गर्ने कृषकलाई अनुदान दिने व्यवस्था गरेदेखि कोदो खेतीमा किसानको संलग्नता पनि बढ्दै गएको छ । पालिकले कोदो खेतीको प्रवर्द्धन गर्न चालु आवका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।हेटौंडा उपमहानगरपालिकासँगै जोडिएको मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली कोदोको समर्थन मूल्य ६० रुपैयाँ प्रतिकिलो तोकेको छ । गतवर्ष ४५ रुपैयाँ रहेकोमा यसवर्ष मूल्य बढाइएको हो । गाउँपालिकाले एक किलोमा १० रुपैयाँ अनुदान पनि दिएको छ ।

जसमा किसानलाई ६ रुपैयाँ र खरिद गर्ने सहकारीलाई चार रुपैयाँ गरी प्रतिकिलो १० रुपैयाँ अनुदानको व्यवस्था गरेको हो । अनुदान पाएपछि कोदो खेतीमा किसान आकर्षित भएका छन् ।गत वर्ष मकवानपुरगढी गाउँपालिकामा २ सय ५० हेक्टर जमिनमा कोदो खेती गरिएकोमा अहिले विस्तार भएर ३ सय ५० हेक्टरमा खेती गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख गोपाल लम्सालले बताए ।

विगत तीन वर्षदेखि संघीय सरकारसँगै गाउँपालिकाले पनि रैथाने बाली कोदोको उत्पादन र उत्पादकत्व वृद्धि गर्न अनुदान दिँदै आएकाले उक्त पालिकाका करिब ४ सय घरधुरीले कोदो खेती गरेका छन् । गाउँपालिकाले कोदोको बजारीकरण र ब्राण्डिड्डसहित कोदोको पीठो बजारमा ल्याएको छ । कोदोको खपत बढाउन स्कुलको दिवा खाजा कार्यक्रममा साताको एक दिन अर्थात् बिहीबार कोदोका परिकार अनिवार्यसमेत गरिएको छ ।

Sharing Is Caring:

Leave a Comment