फाल्गुन ८, २०८१
काठमाडौँ — दक्षिण एसियाका केन्द्रीय बैंकका गभर्नरको बैठक काठमाडौंमा सम्पन्न भएको छ । दक्षिण एसिया क्षेत्रीय वित्तीय समावेशीकरण पहल (एसएआरएफएलएल)को नेतृत्वहरुको छैटौं बैठक (राउण्ट टेबल) बिहीबार काठमाडौंमा सम्पन्न भएको हो ।बैठकमा सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बंगलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुस्नैन, बंगलादेशको अर्थ मन्त्रालयका सहसचिव कमरुल हक मारूफको उपस्थिति थियो ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको लक्षित उद्देश्य प्राप्तिका निम्ति एसएआरएफएलएलको गतिविधिलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए । यसको लागि क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनको धारणा थियो ।
एसएआरएफएलएलमार्फत क्षेत्रीय सहकार्य र समन्वयलाई सुदृढ गर्दै आगामी पाँच वर्षका निम्ति दिगो, समावेशी र नवप्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेन्डालाई बैठकमा प्राथमिकता दिइएको थियो ।बैठकले एसएआरएफएलएलमार्फत सन् २०२५ मा सञ्चालन हुने वार्षिक कार्ययोजनालाई पनि स्वीकृत गरेको छ । बैठकको पहिलो सत्रमा सदस्य संस्थाका सबै सहभागीको तर्फबाट आ–आफ्नो मुलुकमा वित्तीय समावेशीकरणको विद्यमान स्थिति र दक्षिण एसियामा वित्तीय समावेशीकरणको प्रवर्द्धनका लागि एसएआरएफएलएलमार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोण प्रस्तुत गरिएको थियो ।सो अवसरमा गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासबारे उल्लेख गर्दै नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य फड्को मारेको चर्चा गरेका थिए । दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन उनले आहृवान गरे ।श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर वीरासिंघेले श्रीलंकाको वित्तीय समावेशीकरणको स्थितिबारे प्रकाश पार्दै दक्षिण एसियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति एसएआरएफएलएलमार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोणबारे सुझाव प्रस्तुत गरे । उक्त सत्रमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले दक्षिण एसियामा वित्तीय सेवाको पहुँच विस्तारमा देखिएका चुनौतीलाई सम्बोधन गर्न एसएआरएफएलएल महत्त्वपूर्ण सञ्जाल रहेको बताइन् । सो अवसरमा वित्तीय समावेशीकरणका लागि गठबन्धन (एएफआई) का उप–प्रमुख कार्यकारी अधिकृत सी सु युइनले उद्घाटन मन्तव्य राखेका थिए ।