नेपाल मेकाथनमा थ्रीडी प्रिन्टिङ प्रविधिबाट बनाइयो ६ वटा ‘एसिस्टिभ टेक्नोलोजी’

Swastika Bhandari

फाल्गुन ८, २०८१

काठमाडौँ — नेपालमा सहायक प्रविधि वा एसिस्टिभ टेक्नोलोजीको अभाव कम गर्न भन्दै यो साता आयोजित ‘नेपाल मेकाथन’ कार्यक्रममा थ्रीडी प्रिन्टिङ प्रविधिबाट सहायक उपकरणहरू तयार गरिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्ति, अकुपेसनल थेरापिस्ट, डिजिटल फ्याब्रिकेसन विशेषज्ञ तथा इन्जिनियरिङका विद्यार्थीको समूहले ६ वटा एसिस्टिभ डिभाइसका नमुना बनाएका हुन् ।थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगले यी उपकरणलाई न्यून लागतमा उत्पादन गर्न सकिने सम्भावना देखाएको र यसले आयातमा निर्भरता घटाउने अपेक्षा गरिएको छ । एसियाली विकास बैंक (एडीबी), इम्प्याक्ट हब काठमाडौं र काठमाडौँ विश्वविद्यालय डिजाइन ल्याबले संयुक्त रूपमा नेपाल मेकाथन २०२५ आयोजना गरेका थिए ।मेकाथनमार्फत सहायक उपकरणको नवीनतम विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको एडीबीले जनाएको छ । कार्यक्रममा जापानी विज्ञको सहयोग र जापान फन्ड फर प्रस्पेरस एन्ड रेजिलियन्ट एसिया एन्ड द प्यासिफिकको अनुदानमा ६ वटा थ्रीडी प्रिन्टेड सहायक उपकरणको प्रोटोटाइप तयार गरिएको थियो । यी उपकरण बालबालिका, युवा तथा अपांगता भएका व्यक्तिको दैनिकी सहज बनाउने गरी डिजाइन गरिएको थियो ।

एडीबीका प्रमुख सामाजिक क्षेत्र विशेषज्ञ रुडी भान डेलले सहायक प्रविधिको विकासमा थ्रीडी प्रिन्टिङजस्ता प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ‘सहकार्य र नवप्रवर्तनमार्फत समावेशी समाधानहरू कसरी विकास गर्न सकिन्छ भन्ने यस मेकाथन कार्यक्रमले देखाएको छ,’ उनले भने । त्यस्तै, राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले नेपालका प्रत्येक जिल्लामा यस्ता मेकाथन आयोजना गर्न सकेमा धेरै अपांगता भएका व्यक्तिलाई लाभ पुग्ने धारणा राखे ।उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय अपांग महासंघ नेपाल, करुणा फाउन्डेसन र फ्याबल्याब सिनागावाको सहकार्यमा आयोजना भएको हो । नेपालमा पहिलोपटक आयोजना गरिएको ‘सहायक प्रविधि मेकाथन’ले थ्रीडी प्रिन्टिङ प्रविधिबाट किफायती सहायक उपकरण निर्माणको सम्भावना उजागर गरेको कार्यक्रममा सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

Sharing Is Caring:

Leave a Comment