जापानदेखि अमेरिकासम्म कर्णालीको मह

Swastika Bhandari

फाल्गुन ८, २०८१सुर्खेत — गत वर्ष चार क्विन्टल मह बिक्री गरेका जाजरकोटको नलगाड नगरपालिका–४ सिलालका पहलसिंह रावलले यसपालि साढे ४ क्विन्टल मह निकालिसके । भूकम्पले घर भत्किएर टहरामा बस्दै आएका उनले मह उत्पादनबाट बर्सेनि आम्दानी बढाइरहेका छन् । बारीमा उनले १ सय हाराहारी मौरीघार पालेका छन् ।‘माग र भाउ बर्सेनि बढिरहेको छ, अरू व्यवसाय जस्तो मौरीपालनमा खासै दुःख छैन,’ उनले भने, ‘महबाट आएको आम्दानीले भूकम्पको पीडा भुलाउन मद्दत गरेको छ, खर्च कटाएर पनि कम्तीमा ३ लाख रुपैयाँ सिजनमा बचत हुन्छ ।’छिमेकी धनबहादुर रावलले पनि नेपालगन्ज, सुर्खेत, दाङ, काठमाडौंलगायत ठूला सहरहरूमा पठाइरहेका छन् । घरमा झन्डै ६५ वटा मौरीघार राखेका उनले यो वर्ष साढे ३ क्विन्टल मह उत्पादनबाट ३ लाख ५० हजार रुपैयाँको कारोबार गरेका छन् ।

जाजरकोटस्थित नलगाड नगरपालिकाको कल्पत, पाली, चिउरी, डाँडागाउँ, लहँ, खगेनकोट गाउँ मह उत्पादनका पकेट क्षेत्र मानिन्छन् । यहाँका धेरैजसो किसान मौरीपालनबाटै आत्मनिर्भर बनेका छन् । व्यापारी मह खरिद गर्न गाउँमै आउने गरेको स्थानीय किसान रामप्रसाद घर्तीले बताए । कल्पतमा महको मूल्य प्रतिकिलो १ हजारदेखि १ हजार ५ सय रुपैयाँ छ । जाजरकोटको महको माग विदेशसम्म बढेपछि किसान मौरीपालनमा हौसिएको उनले जनाए ।

चार वर्षदेखि मौरीविज्ञ बेलायती नागरिक रुडी रेप्का र उनकी पत्नी लिडिया अनियला रेप्काले कल्पतमा उत्पादन भएको महलाई बेलायत पुर्‍याइरहेका छन् । रेप्का दम्पतीले कल्पतमै आएर झन्डै एक महिना बसेर किसानलाई मौरीपालनका विभिन्न उपाय र सीप सिकाएका थिए । उनीहरूकै प्रेरणाले आफूले मौरीपालन व्यवसाय बढाएर अहिले १ सय ३५ मौरीघारमा मह उत्पादन गरिरहेको नलगाड नगरपालिका–४ सिलालका धर्मराज रावलले बताए । यस वर्ष उनको मौरीपालन फार्मबाट ४ सय ५० किलो मह उत्पादन भएको थियो ।धर्मराजका भाइ हरिबहादुर सञ्चालक रहेको काठमाडौंको कीर्तिपुरस्थित कर्णाली एग्रो स्टेसनले पनि जाजरकोटमा उत्पादित मह अमेरिका, जापान, बेलायतलगायत देशमा पठाइरहेको छ । ‘जाजरकोटको महलाई प्याकेजिङ, ब्रान्डिङ र लेभलिङ गरेर बाहिर पठाइरहेका छौं,’ हरिबहादुरले भने, ‘अहिले त माग धान्नै मुस्किल भइसक्यो ।’

यस वर्ष करिब ३५ क्विन्टल मह विदेश पठाएको उनले जनाए । नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले २०७५ देखि बर्सेनि ४० क्विन्टलसम्म मह अस्ट्रेलिया, अमेरिका, दुबई र कोरिया पठाइरहेको सञ्चालक हरिबहादुर बुढाले बताए । पालिकामा मात्रै झन्डै एक सयभन्दा बढी मौरीघार भएका दुई सय ५० जना व्यावसायिक मौरीपालक किसान रहेको नलगाड नगरपालिकाका कृषि अधिकृत अमृत अधिकारीको भनाइ छ । नलगाडमा मात्रै यो वर्ष २८ टन मह उत्पादन भएको छ ।सल्यानको कालीमाटी गाउँपालिका पनि मह उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । कालीमाटीस्थित झिगानेका वेदबहादुर ओलीले आफ्नो बारीमा ५१ वटा मौरीघार राखेका छन् । यो वर्ष उनले करिब ४० क्विन्टल मह उत्पादन गरे । प्रतिकिलो एक हजार रुपैयाँमा मह बेच्दा झन्डै ४ लाख रुपैयाँ आम्दानी भएको र खर्च कटाएर ३ लाख रुपैयाँ बचत भएको ओलीको भनाइ छ । मौरीपालनमा घार खरिद र मह निकाल्दा चाहिने उपकरणमा मात्र खर्च हुन्छ भने बेलाबेला कृषि प्राविधिकको सहयोग चाहिन्छ । मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ ।

‘मौरीलाई चरन क्षेत्रको अभाव नभए मौरीपालनबाट सोचेजस्तो आम्दानी लिन सकिन्छ,’ झिगानेका अर्का किसान रामबहादुर ओलीेले भने, ‘महको माग देशविदेशमा बढिरहेको छ, मूल्य पनि उच्च छ, त्यसैले घरमै बसीबसी राम्रो आम्दानी गरिरहेका छौं ।’ गाउँमा एक सय ५० किसानले व्यावसायिक मौरीपालन गरिरहेको उनले जनाए ।

कर्णालीमा ३० हजार ५ सय ४६ हेक्टर क्षेत्रफलमा मह उत्पादन हुन्छ । प्रदेशभरि यो वर्ष ३ सय ९१ टन मह उत्पादन भएको कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये जाजरकोटमा ११ सय ८५ हेक्टरमा मौरीपालन गरिएकामा ३५ टन, ७ हजार ७ सय २५ हेक्टरमा मौरीपालन गरिएको सल्यानमा ३८ टन र २ हजार ६ सय ४० हेक्टरमा मौरीपालन गरिएको हुम्लामा २१ मेट्रिक टन मह उत्पादन भएको छ ।

त्यसमध्ये उत्पादनको झन्डै आधा मह विभिन्न संस्था, फार्म र सहकारीमार्फत भारत, बेलायत, जापान, अमेरिकालगायत देश गइरहेको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । गत वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । मन्त्रालयले सात वर्षमा मौरीपालनको विस्तार र बजारीकरणमा ७ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

यो वर्ष मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि करिब डेढ करोड रुपैयाँ विनियोजन गरिएको उनले जनाए । वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादनमा चुनौती रहेको उनले बताए ।

Sharing Is Caring:

Leave a Comment