निर्यातमा उत्साहजनक वृद्धि, आयात तङ्ग्रिँदै

Swastika Bhandari

८ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन–माघ) मा आइपुग्दा निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । भन्सार विभागका अनुसार माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ४६.५० प्रतिशतले धेरै हो । गत वर्ष माघसम्म ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तथ्यांक अनुसार माघ महिनामा २८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

पुस मसान्तसम्म कुल निर्यात ९८ अर्ब ७८ करोड रहेकोमा माघमा यो १ खर्ब २७ अर्बमा उक्लिएको हो । यसरी निर्यातले फड्को मार्नुमा सोयाबिन तेलको ठूलो भूमिका देखिन्छ । भारतले नेपालबाट वनस्पति तेल आयात सहज बनाएसँगै अहिले नेपालबाट हुने निर्यातमा उत्साहजनक वृद्धि देखिन्छ । माघ मसान्तसम्म ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । जुन बढी निर्यात भएका वस्तुको पहिलो नम्बरमा छ ।दोस्रो नम्बरमा सूर्यमुखी तेलको बिउ तथा तेल निर्यात भएको देखिन्छ । जसको परिमाण ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको रहेको छ । तेस्रो नम्बरमा कार्पेट रहेको छ । जुन ६ अर्ब ४६ करोड रुपैयाँ बराबर निर्यात भएको छ । चौथो नम्बरमा अलैँची निर्यात रहेको छ । जुन ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

पुस मसान्तसम्म सोयाबिन तेलको निर्यात १८ अर्ब ९१ करोड बराबरको निर्यात भएकोमा १ महिनाकै अवधिमा यसको निर्यात झन्डै १४ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको देखिन्छ । यसको प्रभाव समग्र निर्यात व्यापारमा देखिएको छ । गत वर्षको माघसम्म वनस्पति तेल धेरै निर्यात हुने सूचीको प्रथम पाँचभित्र पाम आयल मात्र थियो । जुन ३ अर्ब १५ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको देखिन्छ ।भारतले अन्तर्राष्ट्रिय बजारबाट आयात हुने वनस्पति तेलमा भन्सार थप गरी महँगो बनाएको छ । तर, नेपालबाट साफ्टा सुविधा अन्तर्गत शून्य भन्सार दरमा भारत निर्यात हुन्छ । यसको फाइदा नेपाली निर्यातकर्ताहरूले उठाएका छन् ।तङ्ग्रिन थाल्यो आयात

निर्यातले छलाङ मारिरहेको समयमा आयात समेत तङ्ग्रिन थालेको देखिन्छ । भन्सार विभागका अनुसार माघसम्म ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.०९ प्रतिशत धेरै हो । गत आवको माघसम्म ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष ७ महिनामा सबैभन्दा धेरै रकम तिरेर डिजेल आयात भएको देखिन्छ ।

निर्यात र आयात दुवै सुधार भएको यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेर ११ खर्ब माथि पुगेको छ ।

डिजेल आयातमा ६६ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । दोस्रो नम्बरमा कच्चा सोयाबिन तेल रहेको छ । नेपालमा तेस्रो मुलुकबाट कच्चा वनस्पति तेल ल्याई भारत निर्यात गरिन्छ । सोहीकारण यस अवधिमा ३८ अर्ब २९ करोड रुपैयाँ बनाबरको कच्चा सोयाबिन तेल आयात भएको छ । तेस्रो नम्बरमा पेट्रोल छ । पेट्रोल आयातमा ३७ अर्ब ६४ करोड रुपैयाँ विदेशिएको देखिन्छ । खाना पकाउने ग्यास आयातमा ३५ अर्ब ४७ करोड रुपैयाँ बराबर विदेशिएको छ ।

समग्रमा पेट्रोलियम पदार्थको आयातमा ७ महिनाको अवधिमा १ खर्ब ७६ अर्ब रुपैयाँ विदेशिएको छ । फलाम तथा स्टीलको आयातमा ८० अर्ब ६६ करोड विदेशिएको छ । पशुजन्य तथा वनस्पति तेल र घिउ आयातमा ६६ अर्ब २० करोड विदेशिएको तथ्यांक छ । विद्युतीय मेसिन तथा त्यसको पार्टपूर्जामा ६५ अर्ब ४० करोड विदेशिएको छ । सवारीसाधन आयातमा ५५ अर्ब २१ करोड रुपैयाँ विदेशिएको भन्सार विभागको तथ्यांक छ ।

कुल वैदेशिक व्यापार ११ खर्ब माथि

निर्यात र आयात दुवै सुधार भएको यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेर ११ खर्ब माथि पुगेको छ । माघसम्म ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबर कुल व्यापार भएको छ । गत आवको यसै अवधिमा ९ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको थियो । यस वर्ष १३.३० प्रतिशतले आकार बढेको छ । व्यापार घाटा ८ खर्ब ६१ अर्ब रुपैयाँ बराबर देखिन्छ ।

गत आवको ७ महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष ६.२० प्रतिशतले बढेको छ । यस वर्ष कुल वैदेशिक व्यापारमा आयातको हिस्सा २.८३ प्रतिशतले कम हुँदा निर्यातको हिस्सा २९.३० प्रतिशतले बढेको छ । अहिले १ सय रुपैयाँ बराबरको कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० रुपैयाँ बराबरमा उक्लिएको तथयांक छ ।

Sharing Is Caring:

Leave a Comment