काठमाडौँ — गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएका सडक पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् ।सडक विभागले पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ लाग्ने अनुमानसहित अर्थसँग स्रोत सहमति माग गरेको थियो । अर्थको निर्णयसँगै सडक र पुलको स्थायी निर्माणका लागि बाटो खुलेको सडक विभागले जनायो । चालु आर्थिक वर्षका लागि १ अर्ब ८८ करोड रकम निकासा दिने निर्णय भएको विभागका महानिर्देशक रामहरि पोखरेलले बताए ।‘स्रोत सहमतिभन्दा बहुवर्षीयको कुरा आउँछ,’ उनले भने, ‘भत्किएका सडक र पुल बनाउन अर्थबाट पुनर्निर्माणको अनुमति पाएका छौं ।’ अनुमतिसँगै रकम निकासा गर्ने निर्णय भएको उनले जानकारी दिए । अहिले सबैभन्दा बढी समस्या बीपी राजमार्गमा छ, जुन राजमार्गमा अस्थायी रूपमा खोला तर्काएर सवारी साधन सञ्चालन गरिएको छ । बर्खा नजिकिँदै जाँदा अहिलेसम्म स्थायी निर्माण सुरु हुन सकेको छैन । अस्थायी मर्मत भने सुरु गरिएको महानिर्देशक पोखरेलको भनाइ छ ।
भौतिक पूर्वाधार मन्त्रालयले १० राजमार्ग, १३ पुल र ३ सडकको स्थायी निर्माण र मर्मतसम्भारका लागि भन्दै रकम माग गरेको थियो । राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ माग गरिएको थियो । ‘अर्थबाट अहिले राम्रो समन्वय भएको छ,’ पोखरेलले भने, ‘त्यहीअनुसार ठेक्का प्रक्रिया छोटो बनाएर काम थाल्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गराउन पनि अर्थसँगै आग्रह गरेका छौं ।’सबैभन्दा बढी बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको हो । उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको थियो । जसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ माग गरिएको छ ।काभ्रे भन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकी डाँडादेखि नेपाल थोक खण्डमा छ । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्याएको छ ।
अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक स्थायी रूपमा निर्माण गर्न बजेट माग गरिएको हो । त्यहीअनुसार बजेट दिने निर्णय भइसकेको विभागले जनायो । वैकल्पिक सडकतर्फ कार्भेको भकुन्डेबेसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ सडक रहेका छन् । यो सडकका लागि १ अर्ब १५ करोड माग गरिएको हो ।‘अर्थबाट आउने रकमले भत्किएका पुल, सडक सबै बनाइनेछ, बीपी राजमार्गको अस्थायी मर्मतको काम थालिसकिएको छ,’ पोखरेलले भने, ‘ठेक्का छिटो प्रक्रियाबाट गर्न पाए बर्खाअघि नै काम थाल्न सकिन्थ्यो ।’ नत्र ठेक्का गर्दैमा हिउँद सकिने उनको भनाइ छ । यसको अध्ययन सकिसकेको छ । अब ठेक्का प्रक्रिया अघि बढाउँदा समस्या नहुने विभागको भनाइ छ ।
बाढीबाट क्षति पुगेका सडकको स्थायी निर्माणका लागि बजेटको अवरोध हटेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए । ‘अब क्षति पुगेका सडकको पुनर्निर्माण थालिनेछ,’ उनले भने । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि निर्माणमा सहयोग गर्न चाहेकाले कुनै एउटा खण्ड उपलब्ध गराउन सकिने महानिर्देशक पोखरेलले बताए । ‘यसबारे अहिलेसम्म जाइकाबाट केही निर्णय भइसकेको छैन,’ उनले भने ।