फाल्गुन ६, २०८१
संखुवासभा — विभिन्न जलविद्युत् आयोजनाको मुआब्जा वितरणबाट संखुवासभामा तीन महिनामा ५ करोडभन्दा बढी राजस्व संकलन भएको छ । अरुण तेस्रो प्रवेश मार्ग र तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरणबाट ५ करोड १३ लाख ६ हजार राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । संखुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाका लाभग्राहीबाट सरकारी मापदण्डअनुसार ४ करोड ३७ लाख ५७ हजार राजस्व संकलन गरिएको छ । त्यस्तै ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको प्रवेश मार्गबाट ७५ लाख ४८ हजार ६ सय राजस्व संकलन गरिएको छ ।मुआब्जा बापतको रकम जिल्ला प्रशासन कार्यालय संखुवासभाले सम्बन्धित लाभग्राहीको खातामा जम्मा गरिदिन्छ । तल्लो अरुण आयोजनाले संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका-२ चेवामा मुख्य संरचना निर्माण गर्नेछ ।
तल्लो अरुण आयोजनाका लागि हालसम्म १५ करोड १२ लाख ३५ हजार मुआब्जा बापतको रकम लाभग्राहीले पाइसकेका छन् । यो क्षेत्रका ६ सय ५६ जनाले मुआब्जा रकम पाउने जिल्ला प्रशासनले जनाएको छ । उनीहरुका लागि करिब १ अर्ब ४० करोड मुआब्जा रकम वितरण गरिनेछ ।