फाल्गुन ६, २०८१काठमाडौँ — दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)मा पहिलो चरणमा छानिएका एक हजार जनामध्ये १३ जना सोमबार श्रम गन्तव्य इजरायलका लागि उडेका छन् । प्यालेस्टाईनी समूह हमाससँग द्वन्द्व सुरु भएपछि इजरायल जाने नेपाली कामदारको प्रक्रिया रोकिएको थियो ।नेपालका लागि इजरायली दूतावासका अनुसार एक हजारमध्ये सय जनाको भिसा लागिसकेको छ भने अन्यको प्रक्रियामा छ । इजरायलको लागि योग्यता पुगेर छानिएका तीन हजार चार सय ६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा दुई हजार एक सय १२ जना छानिएका थिए । त्यसमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउने प्रक्रिया अगाडि बढाइएको हो ।दूतावासका अनुसार पहिलो चरणमा छानिएका एक हजार श्रमिक उडिसेकपछि दोस्रो चरणका श्रमिक पठाइनेछ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । सरकारले इजरायलको योग्यता पुगेर सूचीकृत भएका सबै श्रमिकलाई आवश्यकताअनुसार लैजानुपर्ने प्रस्ताव राख्दै आएको छ ।
दीर्घकालीन स्याहार केन्द्रमा सबैभन्दा बढी नेपाली १३ सय ४५ जना कार्यरत छन् । उनीहरुले आफूहरु सुरक्षित रहेको बताउँदै आएको छ । केयरगिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा (करिब दुई लाख २० हजार रुपैयाँ) तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ ।
इजरायलमा करिब १४ हजार वटा दीर्घकालीन स्याहार केन्द्र रहेका छन् । गत भदौमा इजरायलले भारतबाट पाँच हजार केयरगिभरसहित १५ हजार श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।