काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आठ वर्षअघि भारतबाट बिजुली ल्याउँदा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘देवता’ भएको बताएका छन् । त्यसबेला लोडसेडिङ अन्त्य गर्न ४२५ मेगावाट बिजुलीको आवश्यकता रहेकामा घिसिङले त्यो पूरा गरेको उनको भनाइ थियो ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै खड्काले भारतबाट ४२५ मेगावाट ल्याउँदा घिसिङ देवता भएको सुनाए ।‘८ वर्षअघि नेपाललाई लोडसेडिङ हुन नदिन ४२५ मेगावाटको आवश्यकता रहेछ, त्यो साढे चार सय मेगावाट भारतबाट ल्याइयो,’ उनले भने । भारतबाट बिजुली ल्याउन पहिले नै प्रसारणलाइन निर्माण भइसकेको समेत खड्काले बताए ।
‘भारतबाट ल्याउन प्रसारण लाइन केही अगाडि बन्नुपर्थ्यो होला, त्यो प्रसारण लाइन कसका कारण बन्यो ? अनि उहाँ देवता हुनुभयो,’ उनले थपे । केही राम्रो काम गरेको भए घिसिङलाई धन्यवाद वा पुरस्कार के दिनुपर्ने समेत उनले बताए ।