बीपी राजमार्गसहित २६ आयोजना पुनर्निर्माण गर्न १९ अर्बको स्रोत सहमति

Swastika Bhandari

६ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ४ फागुनमा माग भई आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार आयोजनाहरू पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् ।२६ वटा आयोजनामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना छन् ।

त्यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।यसअघि लामो समयदेखि अर्थले सहमति नदिँदा भत्किएका सडकहरू पुनर्निर्माणको काम अड्किएको थियो । सोहीकारण भौतिक मन्त्रालयले अस्थायी रुपमा मर्मतको काम थालेको थियो ।

भौतिक मन्त्रालयका अनुसार यस्ता आयोजनाको कागजी काम सकिएको छ । स्रोत सुनिश्चितता हुनासाथ ठेक्का पट्टा प्रक्रिया सुरु हुन्छ ।

Sharing Is Caring:

Leave a Comment