बिमा प्राधिकरण अध्यक्षका लागि पाँच जना ‘सर्टलिष्ट’

Swastika Bhandari

फाल्गुन ५, २०८१काठमाडौँ — नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि परेको आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनौट गरिएको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले परेका १२ जना आवेदकमध्ये पाँच जनालाई ‘सर्टलिष्ट’गरेको हो ।पहिलो चरणमा छनौटमा परेकाहरूमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा छन् । पहिलो चरणमा छानिएका उम्मेदवारहरूको अन्तर्वार्ताका लागि यही माघ १० (आउँदो शनिबार)मा डाकिएको छ ।यसअघिका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट स्वतः निलम्बन भएका थिए । त्यससँगै रिक्त रहेको प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गत पुस २६ गते १५ दिनको समय राखेर आवेदन आह्वान गरेको थियो ।अध्यक्षका लागि उल्लिखित पाँच जना सहित देवराज रोका, विष्णुबाबु मिश्र, बुद्ध काजी श्रेष्ठ, डिम प्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् । समितिले जारी गरेको सूचनामा अध्यक्ष पदको निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्योसरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्ने व्यवस्था छ ।

यस्तै, उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुर नलागेको लगायतका योग्यता तोकिएको छ ।

Sharing Is Caring:

Leave a Comment