फाल्गुन ५, २०८१लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको मर्मतका लागि विद्युत् उत्पादन बन्द गरिएको छ ।हिउँदको समय हाल २८ मेगावाट उत्पादन भइरहेको बेला नेपाल विद्युत् प्राधिकरणसँग अनुमति मागेर ‘सट डाउन’ गरी मर्मत थालिएको आयोजनाले जनाएको छ ।
आयोजनाका जनसम्पर्क अधिकारी कर्ण अधिकारीले विद्युत् उत्पादन बन्द गरेर मर्मत कार्य सुरु गरिएको पुष्टि गरे । उनका अनुसार मर्मत कार्य चिनियाँ कम्पनीको मातहतमा भइरहेको छ । मर्मत कार्य प्राविधिक भएकाले अरू धेरै थाह नभएको उनले बताए ।आयोजनाले शनिबारदेखि शुक्रबारसम्म कार्ययोजना बनाएर विद्युत् गृहको मर्मत थालेको छ । यसका लागि विद्युत् उत्पादन बन्द गरिएको छ । २ सातायता ड्याम क्षेत्रको मर्मत गरिरहेको छ । यो कार्य कम्तीमा ३ महिना चल्ने तर, विद्युत् उत्पादन बन्द गर्न नपर्ने आयोजना स्रोतले बतायो ।ड्याम क्षेत्रमा चिनियाँ कम्पनी ‘ब्युरो सेभेन’ ले नेपाली निर्माण व्यवसायीमार्फत मर्मत गरिरहेको छ । विद्युत गृहमा टर्बाइन मर्मतदेखि अन्य कामहरू चिनियाँ विशेषज्ञ इन्जिनियरसहित प्राविधिक टिमले काम गरिरहेको छ । यसमा चिनियाँ मात्रै छ । ‘मर्स्याङ्दीमा आएको बाढीले टर्बाइनमा बालुवाका कणहरू थुप्रिएर क्षति पुर्याएको छ । बालुवाका कणहरू झिकेर मर्मत कार्य भइरहेको छ,’ आयोजना स्रोतले भन्यो । आयोजनामा २ वटा फ्रान्सिस टर्बाइन रहेकोमा फेर्नुपर्ने अवस्था भने नरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यो बर्सेनि गर्ने नियमित मर्मत हो ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत चिनियाँ लगानीबाट नेपालमा पहिलो पटक निर्मित जलविद्युत् आयोजना हो । बर्खायाममा मर्स्याङ्दीमा आउने बाढीका कारण आयोजनामा क्षति हुन पुगेर बेला–बेला आयोजना मर्मत गरिँदै आएको छ ।आयोजना स्रोतका अनुसार दैनिक १० लाख युनिट बढी विद्युत् उत्पादन हुने उक्त आयोजना १ घण्टामात्रै बन्द हुँदा ५ लाख घाटा पर्छ । १ दिन (२४ घण्टा) बन्द हुँदा करिब १ करोड २० लाख घाटा पर्न जाने आयोजना स्रोतले बताउँछ ।
करिब १६ अर्ब रुपैयाँ लगानीमा निर्मित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी छ । सन् २०१३ को जनवरीमा सुरु भएर ४ बर्षमा निर्माण सकिएपछि आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो ।