५ फागुन, काठमाडौं । बैंकिङ सेक्टर बढेपछि मात्रै समग्र बजार बढ्ने विश्वास लगानीकर्तामा छ । लगानीकर्तामा बैंकिङ सेक्टरले नै बजारलाई माथि लैजान सक्छ भन्ने विश्वास हुनुको प्रमुख कारण नै ‘हाइक्याप’ कम्पनी र सेक्टरको बलियो शक्ति हो ।
यो सेक्टरमा सूचीकृत सबै कम्पनी ‘हाइक्याप’ मानिन्छन् र सीमित व्यक्ति वा समूहले सेक्टरको एउटा कम्पनीलाई समेत प्रभाव पार्न मुस्किल पर्छ । जसले गर्दा साधारण लगानीकर्तामा पनि यो सेक्टर बढेपछि बजारप्रति विश्वास बढ्ने गर्छ ।सोमबार धेरैपछि बैंकिङ सेक्टर २ प्रतिशतभन्दा धेरै बढ्यो । नेप्से परिसूचक जम्मा १.१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर २.१६ प्रतिशत बढ्यो । बेलाबेलामा नेप्सेभन्दा राम्रो प्रदर्शन गर्ने भएकै कारण बैंकिङ सेक्टरका कम्पनी पनि कारोबारका लागि उपयुक्त हुने गरेको देखिँदै आएको छ ।
साउन ३१ गते ३ हजार अंक पुगेको नेप्से परिसूचक त्यसयता घट्दै पुस १६ गते २५७६.५० अंकसम्म झरेको थियो । पुस १६ पछि नेप्से परिसूचक ‘हायर लो, हायर हाई’ ट्रेन्डमा अघि बढेको छ । सोमबार (फागुन ५ गते) २७२७ अंकमा पुगेको छ ।बैंकिङ सेक्टर भदौ ६ गते १७१२ अंकसम्म पुगेको थियो । त्यसपछि घट्दो ट्रेन्डमा रहेको सेक्टर माघ १४ गते १३३१ अंकसम्म झर्यो । माघ १४ पछि यो सेक्टरले पनि बढ्दो लयको संकेत देखाएको छ । हाल १३८७ मा छ ।
साउन अन्तिममा बजार ३ हजार पुग्दा बैंकिङ सेक्टरले नै प्रमुख भूमिका खेलेकाले अहिले फेरि यो सेक्टर चल्ने वित्तिकै बजारले फड्को मार्ने लगानीकर्ताको भनाइ छ ।बैंकिङ सेक्टर मात्रै नभई अरु सेक्टरका ठूला कम्पनीले पनि पछिल्ला दिनमा राम्रो लय समातेका छन् । नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स दुबै कम्पनी सोमबार ३ प्रतिशतभन्दा धेरै बढे । हाई कम्पनीहरु निफ्रा, एचआईडीसीएलमा सोमबार केही करेक्सन देखिए पनि विगतका दिनमा छोटो समयमै यी कम्पनीको मूल्य राम्रो बढेको थियो ।
”लोक्याप कम्पनी केही माथि पुगिसकेपछि बेचेर नाफा बुक गर्ने र त्यहीं पैसा हाईक्याप कम्पनीतिर सिफ्ट हुने गरेको छ”
‘मिड र हाई क्याप कम्पनी नचलेसम्म बजार पनि माथि जान सक्दैन, सस्तो मूल्यमा पनि रहेकाले अब तिनै कम्पनीले नै बजार माथि लैजाने विश्वास छ’ ढुंगानाले भने ।
सोमबार १० अर्ब बढीको कारोबार हुनुले पनि बजार बढ्ने संकेत दिएको लगानीकर्ताको टिप्पणी छ । ‘जब बजारमा उच्च कारोबारका साथ सूचक माथि जान थाल्छन्, त्यसपछि पैसा भित्रिएको बुझ्ने गरिन्छ’ उनले भने ‘यसले बजारलाई थप बढाउन भूमिका खेल्छ ।’
बैंकबाट प्रवाह हुने कर्जा बढ्नुले बिजनेस पनि विस्तार भएको मानिन्छ । यहीं कारण पनि बैंकिङ सेक्टरमा सोमबार लगानीकर्ताको आकर्षण देखिएको उनको भनाइ छ ।
कर्जा प्रवाह बढ्नुले अर्थतन्त्र पनि चलायमान हुन थालेको जनाउँछ, त्यसकारण अब बजार माथि बढ्ने लगानीकर्ताको दाबी छ ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बजार माथि जाँदा हाईक्याप कम्पनीतिर लगानीकर्ता सिफ्ट हुने गरेको अनुभव सुनाउँछन् ।
‘बजारमा प्रतिफल एउटा विषय हो तर सँगै सुरक्षाको प्रत्याभूति पनि महत्वपूर्ण हो । त्यसकारण लोक्याप कम्पनी केही माथि पुगिसकेपछि बेचेर नाफा बुक गर्ने र त्यहीं पैसा हाईक्याप कम्पनीतिर सिफ्ट हुने गरेको छ’ उनले भने । सोमबार बजार बढ्दा पनि फाइनान्स सेक्टर ऋणात्मक हुनु यहीं कारण रहेको उनको भनाइ छ ।
‘कमजोर वित्तीय स्थितिका फाइनान्स कम्पनीको मूल्य ८/९ सय पुगेको अवस्था छ, अब त्यस्ता कम्पनीभन्दा २ सय हाराहारीका वाणिज्य बैंक धेरैले उपयुक्त ठान्न थाले’ उनले भने ।
बजारले लय लिन नसक्दा लोक्याप कम्पनी चल्ने गरेको उनी बताउँछन् । ‘जब बजार साइडवेज वा तल्लो विन्दुमा रहिरहेको हुन्छ, त्यस्तो बेला लोक्याप कम्पनी चल्ने गरेका छन् किनकि सेयर संख्या न्यून हुने भएकाले ती कम्पनी उच्च दरले बढ्छन् ।
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण धेरै राम्रो नदेखिए पनि अब थप नबिग्रने विश्वास पनि लगानीकर्तामा बढेको छ । खासगरी नउठेको साँवा, ब्याजका कारण बढेको निष्क्रिय कर्जा अब थप नबढ्ने अनुमान छ ।
‘यतिबेला बैंकको कर्जा नै बढ्न थालेको छ, जब कर्जा बढ्न थाल्छ निष्क्रिय कर्जा नै कम देखिन जान्छ’ ढुंगानाले भने ‘अर्कोतिर कर्जा बढ्नु भनेको अर्थतन्त्र चलमायन हुने संकेत पनि हो, यसले रिकभरी बढ्न जान्छ ।’ जब बैंकको रिकभरी बढ्न थाल्छ, यसले प्रोभिजन रकम पनि घट्न जान्छ र नाफामा सकारात्मक योगदान पुग्न जान्छ ।
त्यस्तै लगानीकर्ता यतिबेला मौद्रिक नीतिको समीक्षा अनुकुल आउने विश्वासमा छन् । ‘गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक नीति समीक्षा रहेकाले सेयर बजारप्रति उहाँले लिएका कडाइका व्यवस्था अब हट्ने अनुमान छ’ रजौरेले भने ।
मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताले मुख्यतः दुई अपेक्षा गरेका छन् । ५० लाखमाथिको सेयर कर्जाको जोखिमभार १२५ प्रतिशत छ । यसलाई १०० प्रतिशतमा झार्ने नीतिगत व्यवस्था हुन सक्ने अपेक्षा रहेको उनले बताए ।
त्यस्तै अर्को, व्यक्तिगत लगानीकर्ताले बैंकबाट पाउने अधिकतम ऋण सीमा १५ करोडलाई बढाउने विश्वास लगानीकर्ताको रहेको उनको भनाइ छ ।