रामपुर महोत्सवमा ८ करोड रुपैयाँको कारोबार

Swastika Bhandari

फाल्गुन ४, २०८१

पाल्पा — पाल्पाको रामपुर नगरपालिकास्थित रामतुल्सी खेलमैदानमा सञ्चालन भएको रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलामा ८ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।१३ दिनसम्म सञ्चालित महोत्सवको शनिबार समीक्षा गर्दै स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा यो कारोबार भएको देखिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए ।

महोत्सवमा पाल्पाबाहेक तनहुँ, पूर्व नवलपुर, स्याङ्जाका गरेर दुई लाख बढी सर्वसाधारणले अवलोकन गरेका थिए । महोत्सवमा भएको कारोबारले यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाएको अध्यक्ष ढकालले बताए ।महोत्सवमा संघले टिकट बिक्रीबाट ७७ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा माघ १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधारलाई साकार पार्न आयोजित महोत्सव सफल भएको संघका महासचिव खिमबहादुर केसीले बताए ।

महोत्सवमा स्थानीय कृषिउपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिइएको उनले बताए ।अटो मोबाइल, प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री, स्थानीय उत्पादनसहितको चार सय बढी बिक्री स्टल, बालउद्यान, सांस्कृतिक झाँकी, मौलिक खानाका परिकार, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री, अन्डरवाटर फिस टनेल राखिएको थियो ।

राष्ट्रिय स्तरका क्लबहरूको उपस्थितिमा भलिबल प्रतियोगितासमेत भएको थियो । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारद्वारा दैनिक रुपमा कला संस्कृति संरक्षणका लागि प्रस्तुत गरिएका गीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रमप्रति सबैभन्दा बढी अवलोकनकर्ताको आकर्षण देखिएको थियो । लेखापरीक्षणपछि आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने संघले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment