माग बढेपछि फस्टाउँदै बेतका सामग्री बनाउने उद्योग

Swastika Bhandari

फाल्गुन ४, २०८१बर्दिया — बर्दियाको राजापुर नगरपालिकामा बेत ऊद्योग फस्टाउँदै गएका छन् । राम्रो आम्दानी हुन थालेपछि व्यवसायी यसको बजार विस्तारमा लागिपरेका छन् । राजापुरको कर्णाली नदी तटीय क्षेत्र र सामुदायिक वनमा रहेको बेत केही वर्ष अघिसम्म खेर जाने गरेको थियो । तर अहिले बेतबाट फर्निचर बनाउन थालिएको छ । उद्योगीले बेतबाट कुर्सी, टेवुल, ह्यांगर लगायतका सामग्री बनाउने गरेका छन् ।बेतबाट बनेका फर्निचरको माग बढ्न थालेपछि व्यवसायिक उत्पादन पनि बढेको छ । राजापुर–४ का मोहनबहादुर केसी बेतबाट बनेका फर्निचरको बिक्रीबाट राम्रो आम्दानी भएको बताउँछन् । ‘माग धेरै नै आउन थालेको छ । तर हामीले त्यहीअनुसारको सामग्री व्यवस्थापन गर्न सकिरहेका छैनौं,’ उनी भन्छन् ।

माग बढेपछि व्यवसायीले लगानी पनि बढाउन थालेका छन् । थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि लगानीका लागि व्यवसायी उत्साहित बनेका हुन् ।जंगलमा त्यसै खेर जाने बेतका सामग्री अहिले हरेकको घर–घरमा सोभा बढाउने सामग्री बनेका छन् । बर्दिया उद्योग वाणिज्य संघ, राजापुरका अध्यक्ष केदार थापाले बेतबाट बनेका सामग्रीको माग बढ्न थालेपछि अहिले सामुदायिक वनले बेत लिलाम गर्ने प्रक्रिया सुरु गरेको छ ।यहा उत्पादित बेतका फर्निचर सुर्खेत, दाङ, बुटवल, नेपालगन्ज र काठमाडौंसम्म पुग्छन् । सामूदायिक वनबाट हुने लिलाम प्रक्रियाले ठूलो मात्रामा बेत खरिद गर्न सक्ने अवस्था नभएको व्यवसायी अरुण रस्तोगीले बताए ।

गत वर्ष जिल्लाका सामुदायिक वनबाट करिब २ सय क्वीन्टल बेत उत्पादन भएको डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख विजय राज सुवेदीले बताए । प्रयोग बढेकाले अब उत्पादन वृद्धिमा पनि लाग्नुपर्ने उनको भनाइ छ । यहाँ उत्पादित बेतका सामान भारतसमेत निर्यात हुन थालेको छ ।

Sharing Is Caring:

Leave a Comment