डेटिङ एपहरूले किन गुमाइरहेका छन् जेन जी प्रयोगकर्ता ?

Swastika Bhandari

फाल्गुन २, २०८१काठमाडौँ — प्रेम सम्बन्ध र साथीसंगति खोज्ने प्रमुख माध्यमका रूपमा रहेका डेटिङ एपहरू अहिले आफ्ना प्लाटफर्ममा जेन जी र मिलेनियल्स पुस्तालाई टिकाइरहन संघर्ष गरिरहेको अध्ययनले देखाएको छ ।प्यु रिसर्च सेन्टरका अनुसार ३० वर्षअघि म्याच डटकम सुरु भएयता अनलान डेटिङले सम्बन्ध गाँस्ने आयाममा व्यापक परिवर्तन ल्याइदिएको थियो । तर, पछिल्लो समय युवाहरू डेटिङ एपबाट बाहिरिने क्रम बढेको छ ।
विपरित लिंगीप्रति आर्कषित हुने विश्वका करिब १० प्रतिशत मानिस र करिब २४ प्रतिशत एलजीबीटी समूहका व्यक्तीहरूले आफ्नो जीवनसाथी अनलाइनमार्फत भेट्ने गरेको प्यु रिसर्चनको अध्ययनमा उल्लेख छ । शुक्रबार बीबीसीले प्रकाशन गरेको ‘डेटिङ एप्स कुड बि इन ट्रबल’ शीर्षकको समाचारमा पत्रकार फियोना म्याडोनाल्डले युवा पुस्ताहरू डेटिङ एपभन्दा अन्य प्रयोजनका लागि बनेका प्लाटफर्मबाट सम्बन्ध गाँस्न बढी रुचाउने गरेको तथ्य प्रस्तु गरेकी छन् ।

तीन महिनाअघि मात्रै बेलायतका चर्चित १० डेटिङ एपले १६ प्रतिशत प्रयोगकर्ता गुमाएको उल्लेख छ । सोअनुसार टिन्डरले ५ लाख ९४ हजार, हिन्जले १ लाख ३१ हजार, बम्बलले ३ लाख ६८ हजार र ग्राइन्डरले ११ हजार प्रयोगकर्ता गुमाएका छन् ।बीबीसीका अनुसार ग्राइन्डरका प्रवक्ताले उक्त तथ्यांकको स्रोतबारे आफूहरूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । सन् २०२३ को स्टाटिस्टाको सर्वेक्षणले डेटिङ एपमा सर्वाधिक ६१ प्रतिशत प्रयोगकर्ता ३० देखि ४९ वर्ष उमेर समूहका रहेको र जम्मा २६ प्रतिशत मात्रै जेन जी रहेको देखाएको थियो ।चर्चित डेटिङ एप हिन्ज आफैँले सार्वजनिक गरेको ‘डेटा, एड्भाइस, ट्रेन्ड र एक्स्पर्टिज’ वा ‘डी.ए.टी.ई. रिपोर्ट’ मा थुप्रै जेन-जी प्रयोगकर्ताहरूले प्रेम प्रस्ताव अस्वीकृत हुने डर र माया पाउन साह्रै मरिहत्ते गरेजस्तो देखिनु डेटिङ एपप्रतिको आफूहरूको चिन्ता रहेको बताएका छन् ।

सन् २०२३ मा म्याच डटकम, ओकेक्युपिड, हिन्ज र टिन्डरको प्यारेन्ट कम्पनी म्याच ग्रुपले सशुल्क एप चलाउने प्रयोगकर्ताको संख्या घटेपछि सोचेभन्दा कम आम्दानी भएको जनाएको थियो ।डेटिङ एपबाट बाहिरिएका युवाहरू इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल प्लाटफर्म, गेमिङ एप, फिटनेस एपदेखि गुगल डकबाट समेत सम्बन्ध जोड्ने नयाँ-नयाँ तरिका अपनाइरहेको टाइम म्यागजिनको स्तम्भ ‘आइडियाज’मा यौन तथा डेटिङ कोचसमेत रहेकी क्लिनिक सेक्सोलोजिस्ट माइसा ब्याटलले लेखेकी छन् ।

उनले ‘डेट मि’ गुगल डकमार्फत जेन जीहरूले प्रेमी र साथीभाइ खोज्ने नयाँ तरिका अपनाएकोबारे स्तम्भमा लेखेकी छन् । ‘एउटा रोचक डेटिङ ट्रेन्ड कस्तो देखिएको छ भने जेन जी प्रयोगकर्ताहरूले सामाजिक सञ्जालको बायोमा गुगल डकको लिंक राखेर आफू र आफ्ना रुचीबारे जानकारी सेयर गर्न थालेका छन्,’ उनले भनेकी छन्, ‘डेट मि शीर्षकको गुगल डकबाटै उनीहरूले मन परेका व्यक्तीसँग सम्पर्क गर्ने, भेटघाटका लागि समय मिलाउन क्यालेन्डर लिंक गर्नेजस्ता उपाय अपनाएका छन् ।’

प्यु रिसर्च सेन्टरका अनुसार ४६ प्रतिशत डेटिङ एप प्रयोगकर्ताहरूले यी एपमा नकारात्मक अनुभव बटुलेको बताएका छन् । डेटिङ एपभित्रको स्वाइप मोडल प्रभावकारी नभएको, जोडी भेट्टाउन एपका अल्गोरिदम हाबी हुने, एपहरू पैसामूखी भएको युवा प्रयोगकर्ताको आम गुनासो रहने गरेको छ । डेटिङ एपमा म्याच भएका पार्टनरहरूले ‘घोस्टिङ’ अर्थात रिप्लाइ नगर्ने प्रवृत्तीले पनि धेरैलाई दिक्क बनाउने गरेको रहेछ ।

मिलेनियल्स र जेन जी पुस्ता डेटिङ एपप्रति निरुत्साहित भइरहँदा म्याच डटकमले अघिल्लो महिना सार्वजनिक गरेको अध्ययनले डेटिङ एपमा बुमर पुस्ता (५९ देखि ७२ वर्ष उमेर समूहका मानिस) को उपस्थिति भने उल्लेखनीय रूपमा बढेको देखाएको थियो ।

सन् २०२२ यता डेटिङ एपमा ६० वर्ष आसपासका प्रयोगकर्ताको संख्या ३४० प्रतिशतले बढेको म्याच डटकमको दाबी छ । टिन्डर, हिन्ज ग्लोबल, स्निफिज, ग्राइन्डर, बम्बलजस्ता एपहरूले पनि आफ्ना नि:शुल्क र स:शुल्क दुवैथरी प्रयोगकर्ताहरूको संख्यामा व्यापक वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेका छन् ।

कुनै-कुनै डेटिङ एपमा बुढेसकाल लाग्दै गरेका र कतिपय एक्ला व्यक्तिहरूको संख्या ३०० प्रतिशतसम्मले बढेको भारतीय सञ्चार माध्यम ‘वायर्ड’को एक समाचारमा उल्लेख छ । सन् २०२४ मा सबैभन्दा चलेको डेटिङ एप टिन्डरले आफ्नो सक्रिय प्रयोगकर्ताको संख्या ५ करोड पुर्‍याएको थियो ।

डेटिङ एप प्रयोग गर्ने ८ हजारभन्दा बढी प्रयोगकर्तामाझ सर्वेक्षण गरेर तयार गरिएको उक्त रिपोर्टले सिचुएसनसिप, लाउड लुकिङ, किसमेट, नानो शिपजस्ता नयाँ र युवामैत्री शैलीको प्रयोग बढेको देखाएको हो ।

Sharing Is Caring:

Leave a Comment