प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन बनाउँदा १८ हजार मेगावाट विद्युत निर्यात गर्न सक्छौं : ऊर्जामन्त्री

Swastika Bhandari

२ फागुन, काठमाडौं। ऊर्जामन्त्री दिपक खड्काले नेपाल र भारतबीच प्रस्तावित क्रस बोर्डर प्रसारण लाइन निर्माण हुँदा १७ देखि १८ हजार मेगावाट विद्युत निर्यात गर्न सकिने बताएका छन् । भारत भ्रमण सम्पन्न गरी नेपाल फर्केका मन्त्री खड्काले शुक्रबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

हालै नेपाल–भारत ऊर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी बैठकले इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी प्रसारण लाइनको निर्माण तथा लगानी मोडालिटीमा सहमति गरेको थियो । यो सहमति उर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यलाई पुरा गर्न कोशेढुङ्गा सावित भएको मन्त्री खड्काले बताए ।‘हामीले १० वर्षभित्र भारतमा १० हजार र बंगलादेशमा पाँच हजार मेगावाट विद्युत निर्यात गर्ने भनिरहेका छौँ, त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सहमति भएको छ, सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामीले भारत र बङ्गलादेशमा १७–१८ हजार मेगावाट विद्युत निर्यात गर्न सक्छौँ,’ उनले भने ।

भारत भ्रमणका क्रममा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग उनले छुट्टाछुट्टै भेट गरेका थिए । त्यस्तै, बङ्गलादेशका उर्जामन्त्रीसँग पनि आफ्नो महत्वपूर्ण भेट र छलफल भएको मन्त्री खड्काले बताए ।‘हामीले जे उदेश्यका साथ बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने भनेका छौं, त्यसलाई अगाडि बढाउने संकेत मिलेको छ, चाँडै नै यसले पनि मूर्त रुप लिन्छ,’ उनले भने ।

सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामीले भारत र बङ्गलादेशमा १७–१८ हजार मेगावाट विद्युत निर्यात गर्न सक्छौँ- दिपक खड्का,ऊर्जामन्त्री

नेपालबाट बंगलादेश जोड्ने प्रसारण लाईन बनाउने विषयमा पनि छलफल अगाडि बढेको मन्त्री खड्काले बताए । भारतीय विद्युतमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी पनि उनले दिए ।

टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको बताए ।

दुई देशबीचको वाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समितिको वैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको उनले बताए ।

मन्त्री खड्काले पञ्चेश्वर बहुउदेश्यीय आयोजनालाई अगाडि बढाउनेबारे एक हिसाबको सहमति अगाडि बढेको बताउँदै यसलाई प्रधानमन्त्रीस्तरीय बैठकबाट अन्तिम टुङ्गो लगाउनेबारे छलफल भएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा उर्जा सचिव सुरेश आचार्यले नेपाल–भारत सचिवस्तरिय संयुक्त निर्देशक समितिको बैठकले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट एक हजार मेगावाट पुर्‍याउने सहमति भएको बताए ।

यस्तै, नेपालको चमेलियादेखि भारतको जौलजीवीसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर आगामी मार्चसम्म गर्ने र सन् २०२७ सम्म प्रसारण लाईन सम्पन्न गर्नेगरी दुबै देशले आ आफ्नो खण्डमा काम गर्ने सहमति भएको छ ।

Sharing Is Caring:

Leave a Comment