फाल्गुन १, २०८१काठमाडौँ — नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी– पीईसी) को १६ औं बैठकले आयातनिर्यात हुने बिजुलीको प्रतियुनिट दर ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तय गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भएको पीईसी बैठकले प्रसारण लाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तय गरेको हो ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपूतको सह अध्यक्षतामा बैठक बसेको हो । सन् २०२५ मा १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तोकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सन् २०२४ का १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ७.९८ भारु (१२ रुपैयाँ ७७ पैसा) थियो ।बैठकले ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य पनि प्रतियुनिट दर ८.७८ भारु (१४ रुपैयाँ ०४ पैसा) तोकेको छ । सन् २०२४ मा ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट दर ८.६५ भारु (१३ रुपैयाँ ८४ पैसा) थियो । नेपालले
११ केभी प्रसारण लाइनमार्फत आयात निर्यात हुने विद्युत्को प्रति युनिट दर ९.४१ भारु (१५.०५ रुपैयाँ) तोकेको छ । नेपालले चाहेका बेला बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए ।‘हामीलाई आवश्यक पर्दा मात्रै यो संरचनामार्फत बिजुली खरिद गर्ने हो, महँगो सस्तोभन्दा पनि बाटो खुला राखेका छौँ,’ उनले भने, ‘१३२ केभीबाट ल्याउने हो । अत्यावश्यक परेको बेलामा मात्र ३३ र ११ केभी प्रसारण लाइन बिजुली किन्ने हो ।’ यो मूल्य आगामी डिसेम्बरसम्म लागू हुनेछ । सन् २०२६ का लागि पीईसी बैठक बसेर फेरि बिजुलीको प्रतियुनिट दर तोक्नुपर्नेछ ।