प्राधिकरणका सञ्चालक समिति सदस्य पराजुलीले दिए राजीनामा

Swastika Bhandari

फाल्गुन १, २०८१काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका सदस्य बलबहादुर पराजुलीले राजीनामा दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत पुस २ मा बलबहादुर पराजुली र लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए ।प्राधिकरणका सञ्चालक समिति सदस्यमा नियुक्ति पाएको दुई महिना नबित्दै पराजुलीले व्यक्तिगत कार्य व्यस्तता कारण देखाएर गत माघ २७ मा राजीनामा दिएका थिए । ऊर्जा मन्त्री खड्काले सोही दिन राजीनामा स्वीकृत गरिसकेको मन्त्रालय सम्बद्ध स्रोतले जनायो । पराजुली उपभोक्तातर्फबाट नियुक्त भएका थिए ।
पराजुली रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा समेत जलविद्युत् विज्ञ छन् । रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा पराजुली निर्देशक (जलविद्युत् विज्ञ) रहेको वेबसाइटमा उल्लेख छ ।

केसी नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन)का अध्यक्ष हुन् भने पराजुली एमाले निकट हुन् । उनीहरूको कार्यकाल ४ वर्षको हुनेछ ।उच्च अदालत पाटनमा गत पुस १८ केसीको नियुक्ति विरुद्ध जनार्दन जोशीले रिट हालेका थिए । अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले गत पुस २६ मा अन्तिम किनारा नलागेसम्म नियुक्तिको निर्णय र उक्त निर्णयअनुसार मनोनयन पत्र कार्यान्वयन नगरी यथावत् राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । त्यसयता केसीले प्राधिकरणको सञ्चालकका रूपमा काम गर्न पाएका छैनन् ।

Sharing Is Caring:

Leave a Comment