फाल्गुन १, २०८१संखुवासभा — नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण सुरु भएको आठ वर्षपछि ४ सय परिवारलाई छुट मुआब्जा वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि छुट मुआब्जा वितरण थालेको हो । आयोजनाले ३० मिटर सडक खनेर १५ मिटरको मात्रै मुआब्जा पाएको भन्दै पाँच वर्षयता उनीहरू आन्दोलनरत थिए ।प्रशासनले डेस्क स्थापना गरेर एक सातादेखि लाभग्राहीको नाम संकलन गरेको थियो । एकै दिन मुआब्जाबापत ४ करोड ६८ लाख रकम वितरण गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जनाए । छुट मुआब्जाबापत ५३ करोड वितरण हुने उनको भनाइ छ । ‘दुई साताभित्र सबै लाभग्राहीको खातामा रकम पठाइसक्छौं,’ उनले भने ।
गत पुस ११ मा सर्वोच्च अदालतले जिल्ला प्रशासन संखुवासभाले २०७९ चैत २३ मा प्रकाशित सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिनुपर्ने परमादेश जारी गरेपछि उनीहरूले मुआब्जा पाएका हुन् । ‘आयोजना सम्पन्न हुने बेला भए पनि क्षतिपूर्ति पायौं,’ संघर्ष समिति अध्यक्ष जनीकुमार राईले भने ।प्रशासनले छ्याङकुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको ५ सय २४ रोपनी जग्गाको मुआब्जाको ११ लाख ७५ हजारका दरले तोकेको थियो । त्यसलगत्तै प्रशासनको धरौटी खातामा पीडितका लागि आयोजनाको प्रवर्द्धक अरुण ३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५३ करोड जम्मा गरिदिएको थियो । हालसम्म आयोजनाको झन्डै ८० प्रतिशत काम सकिएको छ ।