फाल्गुन १, २०८१चितवन — पहाडी भेग काउले र चन्डिभन्ज्याङलाई फन्को मार्दै त्रिशूलीमा मिसिने रिग्दी खोला असला माछाका लागि चर्चित छ । तर पछिल्लो समय खोलामा माछा हराउँदै गएपछि स्थानीय चिन्तित छन् । असला माछा मुग्लिन, फिस्लिङ र कुरिनघाट बजारबाहेक काठमाडौंसम्म पुग्थ्यो । अचेल दिनभर डुल्दा पनि एक छाक माछा जुटाउन गाह्रो हुँदै गएको रिग्दी खोला खोचको ओर्ल्याङ गाउँका शेरबहादुर चेपाङ बताउँछन् ।
चितवनको सबैभन्दा अग्लो सिराइचुली फेदबाट निस्केको रिग्दी खोला इच्छाकामना गाउँपालिका–१ र २ को सिमाना हुँदै बढ्छ । नागबेली हुँदै पश्चिम हानिएको यो खोला इच्छाकामना–६ मा पुगेपछि त्रिशूली भेट्न उत्तर फर्कन्छ । अनि नारायणगढ–मुग्लिन सडक छिचोल्दै त्रिशूलीमा मिसिन्छ । रिग्दी खोला नै इच्छाकामना र भरतपुर महानगरको सिमाना हो ।‘३०/३५ किलोमिटर लम्बाइको यो खोला असला माछाका लागि प्रख्यात हो । अन्य रैथाने माछा र गँगटा पनि पाइन्छ,’ इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले भने, ‘बूढापाकाले गाईबस्तुले रिग्दी तर्दा पनि कुल्चेर माछा मर्ने गर्थ्यो भनेर सुनाउँथे ।’ गाउँका जिम्मावाल, मुखियाहरू काठमाडौं जाँदा सरकारी अधिकारीलाई असला माछा उपहार दिने गरेको उनले सुनाए ।‘एक रात माछा मार्न जाँदा दुई/तीन किलो हुन्थ्यो,’ ओर्ल्याङका शेरबहादुरले सुनाए, ‘अचेल दिनभर डुल्दा पनि छाक पुग्ने तीन/चार सय ग्राम माछा भेटाउन सकिँदैन ।’ पहाडी भूभागमा मोटरबाटो पुग्न थालेपछि २०७० देखि रिग्दी खोलामा माछा कम हुँदै गएको उनले बताए । ‘मोटरबाटो आएपछि माछा मार्न झुम्मिन थाले । पहिला यही खोला वरपर बस्ने चेपाङ र गुरुङले मात्रै माछा मारेर बेच्ने गर्थे । बाटो आएपछि परपरका गाउँबाट पनि माछा मार्न आउन थाले,’ शेरबहादुरले भने । माछा मार्न विषादी राख्ने, खोलामा करेन्ट पठाउने गर्न थाले । त्यसैले माछा हराउँदै गएको शेरबहादुरको भनाइ छ । यसलाई नियन्त्रण गर्न स्थानीय जुर्मुराएका हुन् ।
स्थानीयको भेला राखेर शनिबार रिग्दी खोला जलचर (माछा) संरक्षण समिति गठन गरिएको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले जनाए । १९ सदस्यीय समितिको अध्यक्षमा हस्तबहादुर चेपाङ छन् । चेपाङ समुदाय चितवनको पहाडी भेगमा बसोबास भएका आदिवासी हुन् । समितिमा अध्यक्षसहित आठ जना चेपाङ समुदायका छन् । १० जना गुरुङ समुदायका र एक जना बस्नेत समितिमा छन् ।रिग्दीको खोलाको माछा गुरुङ समुदायका लागि पनि निकै महत्त्वपूर्ण छ । यहाँ बसोबास हुने गुरुङले दसैंको अष्टमीमा पितृ श्राद्ध गर्छन् । जसमा रिग्दी खोलाको माछा नभई हुँदैन,’ इच्छाकामना–२ मायाटारका टीका गुरुङले भने, ‘खोलाको माछा हराउँदा हाम्रो संस्कार नै प्रभावित हुन्छ । त्यसैले जोगाउन खोजेका हौं ।’ रिग्दी खोलामा असलासँगै कालो भोटी, बुदुना माछा, गँगटा र कालो पाहा पाइन्छ ।
‘भेलाले माछा मार्दा विषादी जैविक या रासायनिक कुनै विषादी प्रयोग नगर्ने, करेन्ट लगाएर मार्न नपाउने, फागुन, चैत र वैशाखमा खोलामा माछा नमार्ने निर्णय गरेको छ,’ वडाध्यक्ष चेपाङले भने, ‘यसबाहेक खोला जथाभावी उत्खनन नगर्ने, जंगलमा आगो नलगाउने, मुहान संरक्षण गर्ने निर्णय भएको छ ।’
रिग्दी खोला वरपरका गाउँ छिचोल्ने गरेर कालोपत्र सडक नै पुग्न थालेका छन् । त्यसैले घुम्न जानेको संख्या बाक्लो हुँदै छ । ठाउँ–ठाउँमा होमस्टे र होटल खुलिरहेका छन् । यस्तो बेला केही कदम नचाले माछा सखापै हुने खतरा बढेको हुँदा स्थानीयलाई संरक्षणमा जोड्न खोजेको वडाध्यक्ष चेपाङले बताए । ‘माछा जोगिएर प्रशस्त हुन थाले यहाँको पहिचान नै असला माछा बन्ने अवसर छ,’ उनले भने ।