सौराहामा खाना महोत्सव

Swastika Bhandari

फाल्गुन १, २०८१चितवन — पर्यटकीय क्षेत्र सौराहामा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर मंगलबारदेखि पाँचदिने फुड फेस्टिभल (खाना महोत्सव) गरिएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) सौराहाले १९ वर्षदेखि ‘भ्यालेन्टाइन्स डे’को अवसरमा फुड फेस्टिभल गर्दै आएको छ । बागमती प्रदेशका पर्यटनमन्त्री विमल ठकुरीले फेस्टिभल उद्घाटन गरे । केही समययता सौराहामा पर्यटकीय गतिविधि सुस्ताएको हुँदा गतिशील बनाउन फेस्टिभलले भूमिका खेल्ने रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताए ।‘फेस्टिभलमा आदिवासी थारूका साथै नेवार र अन्य जातजातिका परिकार पाइन्छन् । अन्य स्वदेशी र विदेशी परिकारको स्वाद पनि लिन पाइन्छ,’ उनले भने । फेस्टिभलमा संगीत र सांस्कृतिक गतिविधि पनि रहेको कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले जानकारी दिए । फेस्टिभलमा खानाका ३२ स्टल छन् । फेस्टिभल अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहने उनको भनाइ छ ।

सौराहाको सडक र फेस्टिभलस्थल पुग्ने भित्री सडक रंगीन डालोको तोरण बनाएर सिँगारिएको छ । ‘देशमा पर्यटनलाई शिथिल बनाउने घटनाक्रम निरन्तर भइरहेका छन् । सुस्ताएको पर्यटन व्यवसायलाई गतिशील बनाउन, व्यवसायीमा उत्साह थप्न र स्थानीयलाई उत्प्रेरित गर्न यस्ता फेस्टिभलले मद्दत पुर्‍याउने हाम्रो आशा हो,’ रेबान सौराहाका अध्यक्ष गिरीले भने । स्थानीय खाना प्रदर्शनीका साथै प्रतियोगिता, वेटर वेट्रेस प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, तान डोरी प्रतियोगिता, फुटबल र ब्याटमिन्टन प्रतियोगिता पनि यस अवधिमा आयोजना हुने मालीको भनाइ छ ।फेस्टिभलमा दिनको पाँच हजार जना सहभागी हुने आयोजकको अपेक्षा छ । फेस्टिभलस्थलमा मात्रै नभएर यस अवधिमा सौराहा क्षेत्रमा तीन करोड रुपैयाँको कारोबार हुने संयोजक मालीको अनुमान छ । चितवन निकुञ्ज घुम्न वर्षमा तीन लाख हाराहारी पर्यटक आउने गर्छन् । तीमध्ये ९० प्रतिशत जति सौराहा हुँदै निकुञ्ज छिर्ने गरेको तथ्यांक छ ।

Sharing Is Caring:

Leave a Comment