घट्यो अधिक तरलता, ब्याजदर बढ्ला ?

Swastika Bhandari

१ फागुन, काठमाडौं । एक महिनादेखि ब्याजदर घट्ने क्रम रोकिएको छ । पुससम्म बैंकहरूबीच ब्याजदर घटाउने प्रतिस्पर्धा नै चल्यो । माघदेखि ब्याजदर घट्न रोकिएको छ ।

बैंकहरूले फागुन महिनाका लागि ब्याजदर स्थिर नै राखेका छन् । घट्दो क्रममा रहेको ब्याजदर एक महिनादेखि स्थिर रहेपछि धेरैले अब ब्याजदर बढ्ने टिप्पणी गर्न थालेका छन् ।बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता पनि साँघुरिन थालेको छ । पर्याप्त कर्जा प्रवाह हुन नसक्दा बैंकहरूमा तरलता थुप्रिँदै आएको थियो । तर, पुस महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाबाट ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएपछि अधिक तरलताको मात्रा घटेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये पुसमा मात्रै ८७ अर्ब २७ करोड प्रवाह भएको हो ।मासिक प्रवाह भएको यो कर्जा साढे तीन वर्षयताकै उच्च हो । ‘मासिक तथ्यांक हेर्दा यो पुसमा गएको कर्जा २०७८ असोज यताकै उच्च हो,’ राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने ।

चालु आव ६ महिनामै ५.२ प्रतिशत कर्जा विस्तार भएको छ । गत आव यसै अवधिमा कर्जा विस्तार ४ प्रतिशत मात्रै थियो ।

पछिल्लो समय राष्ट्र बैंकसँग संकलित तरलता रकम समेत घटेको छ । दुई महिना अघिसम्म ३ खर्ब ५० अर्ब रुपैयाँसम्म अधिक तरलता सञ्चित रहेकोमा अहिले २ खर्ब ५० अर्ब हाराहारीमा झरेको भट्टले बताए । ‘बैंकमा रहेको अधिक तरलता केही घटेको देखिन्छ, यसको अर्थ तरलता अभाव होइन,’ उनले भने ।

त्यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) समेत उकालो लागेको देखिन्छ । तीन महिनाअघि ७८.५ सम्म झरेको सीडी रेसियो अहिले ७९.५ पुगेको छ ।

सीडी रेसियोले कुल निक्षेप संकलनमा कर्जाको अंश जनाउँछ । यसलाई नीतिगत रुपमा ९० प्रतिशतमुनिको सीमा राखिएको छ ।  यो अनुपात बढ्नु भनेको निक्षेपको तुलनामा कर्जाको दर बढ्नु हो ।

जब सीडी रेसियो बढ्न थाल्छ, त्यसले ब्याजदर स्वतः बढाउँछ । निक्षेप संकलन भन्दा कर्जा प्रवाह उच्च, कर्जाको माग बढ्नु र राष्ट्र बैंकले संकलन गर्ने अधिक तरलता रकममा कमी आउनुले अबका दिनमा ब्याजदर नघट्ने स्पष्ट संकेत देखाएको छ ।तर तत्कालै ब्याजदर बढिहाल्ने अवस्था पनि नरहेको बैंकर बताउँछन् । ‘धेरै नै घटिसकेकाले अब ब्याजदर घट्ने क्रम रोकिएकै हो, तर ब्याजदर बढिहाल्छ भन्नु पनि गलत हो,’ नेपाल बैंकर्स संघ अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले भने ।

हाल बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका कारण अझै १ वर्षसम्म सहजै धान्ने अवस्था रहेको अर्का एक बैंकरले दाबी गरे ।

बैंकहरूमा पछिल्लो समय कर्जा माग बढेको छ । बैंकर्स संघ अध्यक्ष कोइराला कर्जाको माग बढ्नु भनेको अर्थतन्त्र चलायमान बन्न खोज्दै रहेको संकेतका रूपमा बुझ्छन् ।

‘निक्षेप संकलन नै नभए पनि बैंकहरूले अझै सहज रूपमा ६ खर्ब कर्जा दिन सक्ने अवस्थामा छन्,’ ती बैंकरले भने, ‘अहिलेको कर्जा प्रवाह हेर्दा यो भनेको करिब एक वर्षलाई पुग्ने पैसा हो ।’

निक्षेप पनि संकलन भइरहने भएकाले एक/डेढ वर्षसम्म ब्याजदर धेरै नबढ्ने उनको दाबी छ । ‘कर्जाको माग बढ्दै गए अहिलेको तुलनामा ब्याजदर थोरै बढ्ला, तर वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दोहोरो अंकको ब्याज दिने अवस्था एक/डेढ वर्ष बन्दैन,’ उनले भने ।

अहिलेको ब्याजदर धेरै नै न्यून रहेकाले केही बढ्नुपर्नेमा राष्ट्र बैंकका उच्च अधिकारीहरूको मत छ । ब्याजदरलाई सामान्यतया मूल्यवृद्धिसँग जोडेर विश्वका सबैजसो केन्द्रीय बैंकले सोही अनुसार नीतिगत व्यवस्था गर्दै आएका छन् ।

‘पुसको मूल्यवृद्धि नै करिब साढे ५ प्रतिशत हाराहारी छ, त्यसकारण व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर योभन्दा कम्तीमा २ प्रतिशत बिन्दु बढी हुनुपर्छ भन्ने मान्यता हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

बैंकहरूमा पछिल्लो समय कर्जा माग बढेको छ । बैंकर्स संघ अध्यक्ष कोइराला कर्जाको माग बढ्नु भनेको अर्थतन्त्र चलायमान बन्न खोज्दै रहेको संकेतका रूपमा बुझ्छन् ।

‘पछिल्ला साता कर्जा माग बढेको छ, यसले आन्तरिक अर्थतन्त्र चलायमान बन्न खोजेको संकेत देखिन्छ,’ उनले भने । पूँजीगत खर्च असाध्यै न्यून हुने भएकाले पुस/माघ सामान्यतः तरलता घट्ने बेला पनि हो । पूँजीगत खर्च बढ्ने भएकाले चैत/वैशाखपछि फेरि बैंकिङ प्रणालीमा तरलता बढ्ने गरेको बैंकर बताउँछन् ।

बैंकिङ प्रणालीमा तरलताको प्रमुख स्रोत नै रेमिट्यान्स हो । पछिल्ला महिना रेमिट्यान्सको वृद्धिदर खुम्चिन थालेको छ । चालु आर्थिक वर्षको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा अमेरिकी डलरमा जम्मा १.१ प्रतिशतले मात्रै रेमिट्यान्स  बढेको छ ।

रेमिट्यान्सको वृद्धिदर खुम्चिँदै जाँदा निक्षेपमा दवाब पर्न जान्छ । रेमिट्यान्सको वृद्धिदर खुम्चिनु, कर्जा प्रवाह बढ्नुजस्ता संकेतले अब अधिक तरलताको अवस्था एक/डेढ वर्षभन्दा धेरै नरहने विश्लेषण हुन थालेको छ ।कस्ता क्षेत्रमा बढ्यो कर्जा ?

चालु आव पछिल्लो पाँच महिनाको कर्जा वृद्धि हेर्दा आयातमा केन्द्रित छ । आयात पनि बढ्नु र कर्जा पनि त्यसमै बढी केन्द्रित भएकाले यसले पनि अर्थतन्त्रलाई चलायमान बन्न खोजेको देखाउने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

आव २०८१÷८२ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये वृद्धिदरका आधारमा ‘ट्रस्ट रिसिप्ट’ (आयात) कर्जा ५६.६ प्रतिशत बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आव पहिलो ६ महिनामा गत आव सोही अवधिको तुलनामा आयात ७.०६ प्रतिशत बढेको छ । आयात बढ्नुले कम्तीमा यहाँ माग बढेको संकेतका रूपमा बुझ्न सकिन्छ ।

त्यस्तै वृद्धिदरका आधारमा ६ महिनामा मार्जिन प्रकृतिको कर्जा २६.३ प्रतिशतले बढेको छ । आवधिक कर्जा ३.१, हायर पर्चेज कर्जा ३.८, नगद प्रवाह कर्जा ४.७ र रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । अधिविकर्ष कर्जा भने ९.८ प्रतिशतले घटेको छ ।

चालु आव ६ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले बढेको छ । त्यस्तै निर्माण क्षेत्रतर्फको कर्जा ७.७ र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशतले बढेको छ ।

त्यसैगरी यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ ५.७, उपभोग्य क्षेत्रतर्फ ५.८, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा जम्मा ०.०२ प्रतिशतले मात्रै बढेको छ ।

Sharing Is Caring:

Leave a Comment