सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान प्रतिबन्ध तत्काल हटाउन माग

Swastika Bhandari

१ फागुन, काठमाडौं । पर्यटन क्षेत्रका सात प्रमुख संगठनले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गरेका छन् ।

वायुसेवा सञ्चालक संघ, एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल, होटल एसोसिएसन नेपाल (हान), नेपाल उद्योग परिसंघ, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त विज्ञप्ति जारी गरी हेलिकप्रट उडान प्रतिबन्ध हटाउन माग गरेका हुन् ।ती संगठनले हेलिकप्टर उडान रोक्नु कानुन विपरीत रहेको भन्दै प्रतिबन्ध कायमै रहे अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुने र पर्यटन उद्योग नै धराशायी हुने जनाएका छन् ।

‘प्रतिबन्ध जारी रहे हेलिकप्टर कम्पनीहरूलाई ठूलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने र हेलिकप्टर कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी गुम्ने र आश्रित परिवारको रोजीरोटी खोसिनेतर्फ सरोकारवालाको ध्यानाकर्ष हुनुपर्छ,’ विज्ञप्तिमा छ, ‘त्यसकारण तत्काल समस्या समाधान गर्न वार्ता तथा संवाद गरिनुपर्छ ।’सगरमाथा निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूह लगायत संघसंस्थाले सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान तथा अवतरणमा १ जनवरी २०२५ देखि प्रतिबन्ध लगाएका थिए ।

त्यसयता प्रतिबन्ध खुलाउन सरोकारवाला र सम्बन्धित पदाधिकारीसँग पटक–पटक वार्ता गर्दा पनि निर्क्योलमा पुग्न नसकेको र हाल उक्त क्षेत्रका हेलिप्याडमा अवरोध कायम रहेको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment